टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज २ गते । गुल्मीको मालिका गाउँपालिका–८ मा रहेको ३३/११ के.भी किसानटारी सवस्टेशन सञ्चालनमा आएको छ । विद्युत प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभाग मार्फत तीन एम.भी.ए. क्षमताको किसानटारी सवस्टेशन निर्माण सम्झौता भएको नौ वर्षमा सञ्चालनमा आएको हो ।
यो आवाससहितको सवस्टेशन एम.एस.ए.टु.जेट इन्फास्टक्चर प्रालिले २०७३ सालमा १० करोड ५० लाख रुपियाँको लागतमा निर्माण सम्झौता गरेको थियो । यसअघि गुल्मी पश्चिम क्षेत्रको बस्तुमा मात्रै विद्युत सवस्टेशन भएकाले ११ के.भी.ए.का चार फिडर मार्फत विद्युत सेवा प्रवाह भइरहेको थियो । लामो दूरीमा विद्युत प्रवाह गर्दा अन्तिम बिन्दुमा भोल्टेज कम हुने र एउटा फिडरमा समस्या आउँदा सबै ठाउँ विद्युत अवरुद्ध हुने समस्या थियो ।
बिद्युतको ३३ के.भी.ए.को प्रसारण लाइनलाई व्यवस्थित गरेर गुणस्तरिय विद्युत सेवा प्रवाहका लागि सवस्टेशन निर्माण गरिएको नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रका इन्जिनीयर भरत पोख्रेलले जानकारी दिनुभयो । प्रसारण लाइनमा हुने चुहावट कम भएर नियमित विद्युत आपूर्ति हुने र भरपर्दो तथा विद्युतीय सुरक्षाको दृष्टकोणबाट पनि जोखिम कम हुने पोख्रेलले बताउनुभयो ।
जिल्लाको पूर्वमा रिडी र विरबासमा सवस्टेशन छन् । जिल्लामा स्थानीय रुपमा उत्पादन हुने ५ मेगावाटको अपर हुँग्दी र २.४ मेगावाटको रिडी हाइड्रोपावर छन् । जिल्लामा स्थानीय बिद्युतसँगै बुटवल र अघाँखाँचीबाट विरबार सवस्टेशनमा प्रसारण जोडिएको छ । १३२ केभिएको उनायचौर विद्युत सवस्टेशनबाट सेवा प्रवाह भइरहेको इन्जिनियर पोख्रेलले बताउनुभयो ।
किसानटारी सवस्टेशन सञ्चालनमा आएसँगै मालिका, मदाने र धुर्कोट गाउँपालिका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्नेछ । लामो समयपछि भए पनि सवस्टेशन सञ्चालनमा आएर गुणस्तरीय विद्युत सेवा पाउने आशाले खुसी लागेको मालिका गाउँपालिका–८ मरभुङ्गकी कमला पौडेलले बताउनुभयो । अझै पनि इस्मा र मुसिकोट क्षेत्रमा विद्युतको नियमित आफूर्तिमा समस्या रहेको छ । पौदी अरेवामा १३२ केभीएकै विद्युत सवस्टेशन निर्माण भइरहेकाले दुई/तीन महिनामै समस्या समाधान हुने आशमा विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी रहेको छ ।