• २५ असार २०८१, मङ्गलबार

सिँचाइका लागि झोलुङ्गे पुल

blog

धनकुटा (हिले) असार १४ गते । सामान्यतया झोलुङ्गे पुल खोला वा नदी तर्नको लागि प्रयोग गर्ने गरिन्छ । तर धनकुटामा भने सिँचाइका लागि समेत झोलुङ्गे पुल उपयोगीसिद्ध देखिएको छ । 

नदीपारिको प्रयोगविहीन पानीलाई वारिको खेतीयोग्य जमिनमा प्रयोग गर्न झोलुङ्गे पुल माध्यम बनेको हो । धनकुटाको शहीदभूमि– १ सफाइटारका स्थानीय किसानहरुले तमोर नदीपारि साँगुरीगढी गाउँपालिकाको लेमलेमा खोलाबाट पानी ल्याएर सिँचाइ गर्दै आएका छन् । गाउँपारी प्रयोगविहीन पाखोमा खेर गएको पानी गाउँसम्म ल्याउनका लागि नदीमा  चार सय मिटरको पक्की कुलाे निर्माण गरिएको छ ।

पानीलाई तमोर नदीपारि तार्न भने करिब सात सय मिटर लामो फलामे पाइपमार्फत झोलुङ्गे पुलको प्रयोग गरिएको छ । नदी पारिको पानी वारि ल्याउने अन्य कुनै विकल्प नभएपछि झोलुङ्गे पुलमार्फत ल्याइएको आयोजनाका पूर्व अध्यक्ष कुलबहादुर खड्काले बताउनुभयो । “पारि पानी खेर गइरहेको थियो हाम्रोतिरका जमिन बाँझा थिए बीचमा तमोर नदी भएकाले पानी ल्याउन सम्भव थिएन, अनि साेच्यौं तमोर नदीमा झोलुङ्गे पुल लगाउन पाए त घाँस दाउरा गर्न ओहोरदोहोर गर्न मात्र हैन पुलको प्रयोग गरी पानी वारि ल्याउन सकिन्छ भन्ने लाग्यो अनी झोलुङ्गे पुलका लागि पहल गर्यौ” खड्काले भन्नुभयो । 


वि.सं.२०२८ सालबाट नदीपारिको पानी वारि ल्याउन माग राख्दै आएका स्थानीयवासीले २०५३ सालमा तमोर नदीमाथि जिल्ला विकास समिति धनकुटाले पुल निर्माण गरेपछिमात्र सम्भव भएको थियो । पुल निर्माण भएपछि सुरु गरिएको सिँचाइ आयोजना करिब नौ लाख रुपियाँको लागतमा २०५६ सालमा मात्र पूरा भई गाउँमा सिंचाइ सुविधा पुगेको आयोजनाका अध्यक्ष हरिबहादुर खड्काले बताउनुभयो ।

उक्त आयोजनाबाट २८ वर्ष यता सफाइटारका ५२ परिवारले करिब ५० हेक्टर जमिन सिँचाइ गर्दै आएका छन् । सिंचाइकै कारण स्थानीयको जीवनस्तरमा सुधार आएको छ । हाल उनीहरु व्यावसायिक कृषि पेसा र्फ आकर्षित भएका छन् । यही आयोजनालाई आधार मान्दै धनकुटाको साप्तीङ्गटारमा समेत तमोर नदी पारिबाट अर्को आयोजना सञ्चालनको तयारी गरिएको सिंचाइ डिभिजन कार्यालय धनकुटाले जनाएको छ । 

यस्ता आयोजना धनकुटाबाहेक पहाडी क्षेत्रका लागि समेत उपयागी हुने सिंचाइ डिभिजन कार्यालय धनकुटाका सिनियर एसाेसिएसन अर्गनाइजर बुद्धिमान लिम्बूले बताउनुभयो । यस प्रकारका आयोजना सञ्चालनले पानीको स्रोत भएका तर उपयोगविहीन पानी नदी वा खोला तारेर बस्तीसम्म पुर्याउन यस्ता पुल र आयोजना सफलसिद्ध हुने लिम्बूको भनाइ छ । 

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।