• ३१ भदौ २०८२, मङ्गलबार

सुपथ मूल्यमा चामल वितरण सुरु

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोट गोदाममा मौजात चामल । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, भदौ ३१ गते ।
जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले सुपथ मूल्य पसल सुरु गरेको छ । दशैँ नजिकिँदै गरेकाले सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो ।

जिल्लाको सबै नगरपालिका र गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी  खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको कार्यालय कालीकोटबाट आइतबार सूचना गरी सोमबारबाट सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटका प्रमुख  निर्मल विष्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको कार्यविधि अनुसार दुर्गम हिमाली भेगका उपभोक्ताको सहजका लागि भदौ ३० देखि कात्तिक १० गतेसम्म दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी चामल सहुलियत दरमा बिक्री हुने बताउनुभयो । उहाँले अहिले चालम मात्र बिक्री सुरु भएको र केही दिनपछि दाल, तेल चिनी पनि वितरण गरिने छ ।

अहिले ढुवानीकै प्रक्रियामा रहेकाले धैर्य गर्न अनुरोध गर्नुभयो । कार्यालयबाट अरुवा सेनामन्सुली चामल, स्टिम चिरा मसिनो चालम, फर स्टिम जिरा मसिनो चालम, अरुवा मोटा चामल र फर अरुवा मोटा चामल गरेर पाँच प्रकारका चामल वितरण हुने भएका हुन् । सबैभन्दा बढी मूल्य रहेको स्टिम चिरा मसिनो चालम र फर स्टिम जिरा मसिनो चालमको मूल्य प्रतिकिलो ९० बाट घटेर ८५ रुपियाँ कायम भएको छ । सबै चामलमा प्रति किलोमा पाँच रुपियाँ घटाइएको छ । अन्य खाद्य सामग्री ढुवानी भइसकेपछि त्यसको मूल्य निधारण हुने कार्यलयको भनाइ छ ।