• ३१ भदौ २०८२, मङ्गलबार

कारागारबाट फरार सात कैदी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय बर्दिया ।

यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) भदौ ३१ गते ।
बर्दियामा देशका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरूलाई विशेष सूचनाको आधारमा बर्दिया प्रहरीले पक्राउ गरेको हो ।

कारागारबाट भागेपछि कोही बर्दिया घरमा आएका, आफन्तीकोमा लुक्न आएका र भारततर्फ भाग्दै गरेका कैदीहरूलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले  नख्खु कारागार भैँसेपाटीमा जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरीरहेका बारबर्दिया नगरपालिका वडा न ९ बस्ने ५३ वर्षीय हरीराज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी दाङ तुल्सीपुर कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैलाली जिल्ला घोडा घोडी नगरपालिका वडा नं ६ बस्ने कल्लु दमाईलाई कैलाली र बर्दियाको सिमाना चिसापनीबाट पक्राउ गरिएको छ । जिल्ला कारागार दार्जुलामा मानव बेचविखन मुद्दामा कैद भुक्तान गरीरहनु भएको सुर्खेत मैनतारा नगरपालिका २ बस्ने ४१ वर्षीय मानबहादुर विकलाई पनि पक्राउ गरिएको  गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताउनुभयो ।

यसैगरी, हाडनाता करणी मुद्दामा केन्द्रीय कारागार सुन्धाराबाट भागेका बढैयाताल गाउँपालिका वडा नं ७ पचासा बस्ने ४९ वर्षीय मनिराम दमाईलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका नक्खु कारागार ललितपुरबाट भागेका गेरुवा गाउँपालिका– ४ खोनपुर बस्ने दर्नबहादुर क्षेत्रीलाई सोही ठाउँबाट पक्राउ गरेको छ ।

बाँके नौवस्ता कारारगारमा लागुऔषध मुद्दामा कैद भुक्तान गर्दा गर्दै भागेका कोहलपुर नगरपालिका वडा नं २ विकाश नगर बस्ने २८ वर्षीय ध्रुब सिंह ठकुरी र सुर्खेत बिरेन्द्रनगर नगरपालिका ४ बस्ने २१ वर्षीय रोहन बस्याललाई प्रहरीले पक्राउ गरेको छ । गए राति करिब ८ बजे नेपाल भारत सिमा नजिक बढैयाताल गाउँपालिका वडा १ शान्तीपुरमा शङ्कास्पद तरिकाले हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू दुवैजनालाई बाँके नौबस्ता कारागारको टोलीलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक डमरपालले बताउनुभयो । पक्राउ परेका कैदीहरूलाई कारागार सुरक्षा गार्ड बर्दियामा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरी कैदीहरूलाई सम्बन्धित कारागारमा पठाइने उहाँले बताउनुभयो ।