सिराज खान
नेपालगन्ज, भदौ ३१ गते । जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगो लगाएपछि त्यहाँबाट लुटिएको ठुलो परिमाणको नगद रकम र सुन चाँदी फिर्ता ल्याइएको छ ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटिएको दुई लाख ५२ हजार रुपियाँ नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि र समाजसेवीहरुको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित कार्यालयहरुले लुटिएको रकमसहित सामानहरु फिर्ता गर्ने सूचना जारी गरेपछि स्थानीयको सहयोगमा फिर्ता ल्याउन थालिएको छ ।
राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार राति नेपाली रुपियाँ एक लाख १७ हजा ६५० र भारतीय रुपियाँ ८४ हजार ३६० को एक लाख ३४ हजार ९७६ रुपियाँ नेपाली गरेर दुई लाख ५२ हजार ६२६ रपियाँ, ४२१.३२ ग्राम सुन र नौ किलो ९८४ ग्राम चाँदी इलाका प्रहरी कार्यालयमा फिर्ता बुझाइएको सो कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताउनुभयो ।
उहाँले नगदसहितको सो सामान राजस्व अनुसन्धान कार्यालय, कोहलपुरका शाखा अधिकृत खडकप्रसाद उपाध्याय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा मुचुल्का तयार गरी कार्यालयमा सुरक्षित राखिएको बताउनुभयो ।
यसअघि प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका २ सालको बुटा नजिकैबाट नगद सात लाख ६६ हजार रुपियाँसहित कोहलपुर ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।
सो रकम उनीहरुले पैसा निकालेर बैंकबाट निस्किएका एकजनाको झाेला लुटेर फरार भएका थिए । तर केही बेरमै प्रहरीले पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको थियो ।
उता, जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सूचना प्रकाशित गरेपछि जिल्लाका विभिन्न कार्यालयहरुबाट लुटिएको सामान छिटपुट रुपमा फिर्ता आउन थालेको छ । फिर्ता नगर्नेहरुको खोजी गरेर कडा कानुनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।