• ३१ भदौ २०८२, मङ्गलबार

कतै त्रिपाल कतै परिसरबाटै सेवा

blog

तुलसीपुर उपमहानगरपालिकामा निर्माण गरिएका अस्थायी टहरा ।

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ ३१ गते । जिल्लाका स्थानीय तहहरूका भवन जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् । संरचनाहरू क्षतिग्रस्त अवस्थामा पुगे पनि स्थानीय तहहरूले भने कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु गरेका छन् । 

आन्दोलनका क्रममा दुई वटै संरचना क्षति पुगेका तुलसीपुर उपमहानगरपालिकाले सोमबारबाट परिसरमै त्रिपाल टाँगेर सेवा सुरु गरेको छ भने घोराही उपमहानगरपालिकाले परिसरबाटै सेवा सुरु गरेको छ । 

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आन्दोलनका क्रममा दुई वटै भवन पूर्णरूपमा क्षति पुगेको बताउनुभयो । उहाँले क्षति पुगेको भवनमध्ये आंशिक कोठामात्रै क्षति नभएको बताउनुभयो । नगर प्रमुख खड्काले पालिकाले निर्माण गरेको तुलसी ट्रेड टावरमा आन्दोलनका क्रममा आगलागी नभएपनि ढुङ्गामुढाका कारण क्षति पुगेको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले तत्कालका लागि अत्यावश्यकीय सेवा सुरु गरेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यलगायतका सेवा सुरु गरेको बताउनुभयो । 

आन्दोलनका क्रममा तुलसीपुरमा रहेका मालपोत, आन्तरिक राजस्व, इलाका प्रशासन, कारागार, यातायात व्यवस्था,उच्च अदालत, सिँचाइ डिभिजन, भू जलाधार संरक्षणलगायतका कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । यसैबिच तुलसीपुर उपमहानगरपालिकाले सेवा प्रवाहलाई नियमित गर्ने विषयमा सोमबार सर्वपक्षीय छलफलसमेत आयोजना गरेको थियो ।