• ३१ भदौ २०८२, मङ्गलबार

मौरीपालनबाट वार्षिक २५ लाख आम्दानी

blog

भारतीले कैलालीको लम्कीचुहाँमा सञ्चालन गरेको मौरीपालन र्फाम । तस्बिरः निराजन परियार

निराजन परियार 

चौमाला (कैलाली),भदौ ३१ गते । घर वरिपरि मौरीका घारैघार । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने कैलाली लम्कीचुहाँ नगरपालिकाका हरिराम भारतीको दिनचर्या हो ।

मह उत्पादन मात्रै नभएर मौरीपालन सम्बन्धी तालिमसमेत दिने गरेका छन् । परिश्रम र मिहिनेत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपियाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् हरिराम । 

विगत तीन दशकदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आएका कैलाली लम्कीचुहाँ नगरपालिकाका वडा ६ का हरिराम भारतीले मह उत्पादन गरेर वार्षिक २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।  

उहाँले सुरुमा १० घारबाट सुरु गरेको मौरीपालन अहिले ५ सय घार पुगेको छ । सन् १९९० मा भारतको हिमाञ्चल प्रदेशमा मौरी पाल्न सिकेका भारती २०१६ सम्म भारतमा काम सिकेर नेपालमा आएर मौरीपालन गर्न थालेका हुन् । कृषक भारतीको मुख्य आम्दानी यही नै हो । उहाँ मात्र होइन, अहिले उहाँको तीन पुस्ता नै मौरीपालनमा व्यस्त छ ।  

मौरीपालन बाहेक अन्य पेसा गर्ने कुनै योजना नभएको उहाँको भनाइ छ । अहिले उहाँको परिचय मौरी पालक कृषकको मात्र छैन । विभिन्न ठाउँमा पुगेर यससम्बन्धि तालिम पनि दिने गरेका छन् ।

भारतीले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौं, चितवन, बुटवल लगायत बजारमा ब्रान्ड बनिसकेको छ । भारती जिल्लाकै मात्र नभएर सुदूरपश्चिम प्रदेशको नमुना मौरीपालक किसान हुन् । 

काठमाडौं, पोखरा र बुटवल लगायतका देशका बिभिन्न ठाउँहरुमा मह जाने गरेको छ । अहिले छोरा बुहारी र नातिहरुले पनि साथ दिदै आएका छन् । भारतीले सरकारबाट राष्ट्रियस्तरमा पटक पटक उत्कृष्ट कृषक पुरस्कार समेत पाएका छन् । 

हरिरामका छोरा किरणपाल भारतीले बुवालाई साथ दिँदै आएका छन् । किरणपाल भारतीले मह मात्रै नभएर मौरीपालन सम्बन्धी सबै सामाग्री बनाउने देखी तालिमहरु समेत दिने गरेका छन् । 

किरणको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उहाँले वर्षमा ८ सय घारसम्म बिक्री गर्ने गरेका छन् । मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने उहाँले बताउनुभयो । मौरी पालेर परिवारका लागि आर्थिक उन्नति समेत भएको छ । अहिले १० जनालाई रोजगार समेत दिएको उहाँको भनाइ छ । 

महमात्र होइन मौरीको घार र गोला समेत बिक्री गर्छन् । महबाट भएको आम्दानीले घरखर्चसँगै छोरालाई  डिग्रीसम्म पढाउनुका साथै सहरमा घरघडेरी जोडेको उहाँको भनाइ छ । यही व्यवसायले जीवनमा ठूलो परिवर्तनै ल्याइदिएको छ । कैलालीको लम्कीचुहाँमा भारती मौरीपालन फार्म सञ्चालनमा ल्याएका छन् । 

कृषि ज्ञान केन्द्र कैलालीले अनुदान र प्राबिधिक सहयोग गरेपछि भारती मौरीपालनमा हौसिएका छन् । सरकारले पनि व्यवसायिक रुपमा काम गर्ने कृषकहरुलाई थप सहयोग र होसल्ला दिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टले बताउनुभयो ।