निशा राई
धरान, भदौ ३१ गते । धरान उपमहानगरपालिकामा जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी गर्नेहरुलाई स्थानीय तथा राजनीतिकर्मीहरुले कारबाहीको माग गरेका छन्।
धरान उपमहानगरपालिकामा गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन साँझदेखि धरानका विभिन्न राजनीतिक दलका कार्यालयहरूदेखि व्यापारीहरुका पसल र स्थानीय नेताका घरहरुमा समेत प्रदर्शनकारीहरुले तोडफोड तथा आगलागी गरेका थिए । उक्त घटनामा संलग्न प्रदर्शनकारीहरुलाई कारबाहीको माग गर्दै मङ्गलबार इलाका प्रहरी कार्यालय धरानमा माग गरेका छन् ।
धरानका पूर्व नगरप्रमुख मनोज मेन्याङबोको होटल कञ्चनजङ्गामा तोडफोड, आगजनी गरी करिब ६ लाख रुपियाँ नगद लुटिएको दाबी गर्दै १२ जना विरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराउनुभएको छ । “मसँग स्पष्ट तस्बिर र भिडियो प्रमाणको रुपमा छ । दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्छ,” उहाँले भन्नुभयो ।
सोही दिन धरानमा कांग्रेस र माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, पूर्व उपमेयर मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङलगायतका घरहरूमा तोडफोड तथा आगो लगाएको थियो । यो घटनाले शान्त रुपमा रहेको धरान सहर आतङ्कित बनाएको छ ।
निवर्तमान नगरप्रमुख तिलक राईलगायत धरानका सबै राजनीतिक दलले दोषीहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै सरकार र सुरक्षा निकायलाई कठोर कदम चाल्न साथै निष्पक्ष छानबिन र कारबाहीको माग गर्नुभएको छ ।
जेनजी प्रदर्शनमा आगजनीमा संलग्न दुई जनाले आत्मसमर्पण गरेको र थप अन्य अभियुक्तलाई समेत पक्राउ गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुले बताउनुभयो । संलग्न सबैलाई कानुनी कारबाहीमा ल्याउने उहाँले प्रतिबद्धता गर्नुभयो ।