• ३१ भदौ २०८२, मङ्गलबार

पोखरा महानगरको सेवा असोजबाट

blog

कास्की समाचारदाता

कास्की, भदौ ३१ गते । जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकामा आगजनी भएर भवन र सामान जलेर नष्ट भए । भवन जलेकै कारण महानगरपालिकाले अहिले पनि सेवा दिन सकिरहेको छैन । महानगरले आगामी असोज १ गतेदेखि कार्यालय सञ्चालनको घोषणा यसअघि नै गरिसकेको थियो तर सेवा प्रवाह पुरानै भवनबाट सम्भव नहुने भएपछि विभिन्न ठाउँमा कार्यालय सारिएको हो । प्रमुख प्रशासकीय भवन जलेर नष्ट भएपछि आफ्नैमातहतका अन्य कार्यालयबाट सेवा दिन लागिएको हो । महानगरपालिकाले सूचना जारी गर्दै सेवा प्रवाह हुने वैकल्पिक कार्यालयबारे जानकारी दिएको छ ।

सूचना अनुसार प्रमुख प्रशासनिक काम हालको दमकल भएको कार्यालयबाट सञ्चालन गर्न लागिएको छ । यो कार्यालय शान्ति वनबाटिकानजिक छ । यहाँ नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बनाउन लागिएको हो । त्यसै गरी सार्वजनिक लेखा समिति, कानुन महाशाखा, सरसफाइ र सूचना प्रविधि शाखाको काम पनि दमकल रहेको कार्यालयबाट हुने छ । सेवाग्राहीको बढी भिड हुने महाशाखा पोखरा सभागृहमा सारिएको छ ।

सभागृहबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित प्रशासन महाशाखा, राजस्व महाशाखा, सहरी विकास महाशाखा, भण्डार, तथ्याङ्क, विपत् व्यवस्थापन, अभिलेखीकरण, पञ्जीकरण, लेखा, महानगर प्रहरीको शाखा यहाँबाट चल्ने बताइएको छ । शिक्षा महाशाखा भएको भवनबाट शिक्षासँगै आर्थिक प्रशासन महाशाखा र कोष प्रशासन शाखा पनि सञ्चालन हुने छ । सामाजिक विकास महाशाखा हालकै अवस्थामा सञ्चालन हुने छ । अहिले रहेको पूर्वाधार विकास महाशाखाबाट पूर्वाधारसँगै योजना, आलेप, भूमि प्रशासन र खरिद शाखा सञ्चालन गरिने छ । आर्थिक विकास महाशाखाबाट आर्थिकसँगै, सहकारी, श्रम तथा रोजगार र व्यवसाय प्रवर्धन केन्द्रका काम गरिने छ । मुख्य प्रशासनिक भवनमा भएको क्षतिका कारण सेवा प्रवाहमा उत्पन्न भएको असहज परिस्थिति हेरेर अर्को व्यवस्था नभएसम्मका लागि यो निर्णय गरिएको महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिनुभयो । महानगरभित्रका विद्यालयसमेत  असोज १ गतेदेखि नै नियमित सञ्चालनका लागि अपिल गरेको छ । नगरप्रमुख धनराज आचार्यले सङ्कटबिच सेवा प्रवाहमा महानगर प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीलाई सङ्कट छ । तैपनि सेवा रोक्न सक्ने अवस्था छैन । अहिले जुन अवस्था छ, यसैमा काम चलाउनु पर्छ । वैकल्पिक व्यवस्था गर्नु पर्छ ।” महानगरसँगै वडाका सेवासमेत असोज १ गतेबाट सुरु हुने छ ।