• ३१ भदौ २०८२, मङ्गलबार

तीन दलद्वारा क्षतिको विवरण सङ्कलन

blog

बुटवलमा एमालेको प्रदेश कार्यालयमा गरिएको आगजनी ।

भैरहवा समाचारदाता

भैरहवा, भदौ ३१ गते । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट व्यापक क्षति पुगेका पार्टी कार्यालयको विवरण सङ्कलन गर्न लुम्बिनी प्रदेशका प्रमुख राजनीतिक दलले काम सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आफ्ना जिल्ला, क्षेत्रीय र स्थानीय तहका कार्यालयमा भएको क्षतिको पूर्ण विवरण सङ्कलनका लागि समिति खटाएका छन् ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार रुपन्देहीको मधवलियास्थित जिल्ला कार्यालय र बुटवलको प्रदेश कार्यालयसहित पाल्पा, रुकुमपूर्व र रोल्पाबाहेकका सबै जिल्लाका पार्टी कार्यालयमा तोडफोड र आगजनीका कारण पूर्ण क्षति भएको छ । उहाँले गुल्मीमा भवनमा आगजनी नभए पनि सामग्री बाहिर निकालेर जलाइएको जानकारी दिनुभयो । 

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि आन्दोलनका क्रममा प्रदेशका अधिकांश कार्यालयमा तोडफोड भएको बताउनुभयो । उहाँका अनुसार पाल्पा, रोल्पा र पूर्वी रुकुमबाहेकका सबै जिल्लामा पार्टी कार्यालयमा क्षति पुगेको छ । उहाँले रुपन्देही, बाँके, बर्दिया, कपिलवस्तु र अर्घाखाँची जिल्लामा भने ठुलो क्षति भएको बताउनुभयो । पुनले जिल्ला, क्षेत्रीय र नगर तहका कार्यालयमा समेत क्षति पुगेको भन्दै यसको विवरण सङ्कलन कार्य अघि बढिरहेको बताउनुभयो ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार, पाल्पा, रुकुमपूर्व, रोल्पा र बर्दियाबाहेकका जिल्लाका पार्टी कार्यालयमा क्षति भएको छ । उहाँले रुपन्देहीमा सबैभन्दा ठुलो क्षति भएको जनाउँदै लाखौँ मूल्य बराबरको सम्पत्ति जलेको बताउनुभयो । बरालले प्रस्तुत गरेको विवरण अनुसार नवलपरासीको भाडाको घरमा रहेको कार्यालयमा आगजनी हुँदा करिब सात लाख बराबरको, रुपन्देही बुटवलस्थित प्रदेश र जिल्ला कार्यालयमा करिब १० लाख, देवदह नगर कार्यालयमा आठ लाख, सैनामैनामा करिब २० लाख, दाङमा भाडाको कार्यालयमा भएको आगजनीमा १५ लाख, प्युठानमा १५ लाख, अर्घाखाँचीमा १२ लाख, गुल्मीमा १५ लाख बराबरको क्षति भएको छ । बाँकेको कोहलपुरमा भने तोडफोड मात्रै हुँदा करिब पाँच लाख बराबरको नोक्सानी भएको उहाँले दाबी गर्नुभयो । ती जिल्लाबाट सङ्कलित सम्पूर्ण विवरण सम्बन्धित निकायमार्फत प्रहरीलाई बुझाइएको जनाएको छ ।