• ३१ भदौ २०८२, मङ्गलबार

बिस वर्षदेखि शव चिर्दै लक्ष्मी सिस्टर

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ ३१ गते । बेनीस्थित प्रदेश अस्पतालमा अत्यावश्यक सहयोगी चाहिएमा झट्ट सबैले लक्ष्मी सिस्टरको नाम लिने गर्छन् । उहाँको जिम्मेवारी भनेको अस्पतालको पोस्टमार्टम सहयोगी अर्थात् शवलाई चिर्नुपर्ने भएपछि उहाँले त्यो काम सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैले अस्पतालका अरू कर्मचारीको जनजिब्रोमा  लक्ष्मी सिस्टर आउने गर्छ । लक्ष्मी सिस्टर भन्दा उहाँलाई सबैले चिन्ने गर्छन् । 

चिकित्सकले मृत्युको कारण हेर्नका लागि उपस्थित भएपछि शव चिरेर अदालत, प्रहरी, आफन्तले खोज्ने रिपोर्टमा उल्लेख गर्ने विषयवस्तु दुरुस्तसँग निकाल्ने जिम्मेवारी उहाँको हुने गर्छ । सबैले लक्ष्मी सिस्टर भनेर बोलाउने गरिएको उहाँ बेनी अस्पतालमा २०६२ सालदेखि कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्छ । 

बागलुङ नगरपालिका–३ की स्थायी बासिन्दा उहाँले २०६२ सालबाट सो जिम्मेवारीमा बसेर काम थाल्नुभएको हो । उहाँकी एउटी छोरी अहिले बेनी अस्पतालमै जागिरे हुनुहुन्छ भने छोराले विद्यालयस्तरमा पढ्दै छन् । बागलुङबाट बेनी आएर कार्यालय सहयोगीका रूपमा कार्यरत लक्ष्मीको २० वर्ष बेनी अस्पतालकै शव पोस्टमार्टम गरेरै बित्यो ।

उहाँले आफ्नो पेसागत अनुभव सुनाउँदै भन्नुभयो, “जब  अस्पतालको शवगृहमा ससाना बालबालिकाको शव चिर्नुपर्ने हुन्छ, अनि त्यो बेला मन कटक्क खान्छ । मृतकका आफन्त पीडाले छट्पटिँदै रुने, कराउने गर्दा भित्र आफूले शव चिर्नु पर्दा निकै कठिन हुन्छ ।” 

अघिल्लो हप्ता गाडीको ठक्करबाट मृत्यु भएका तीन वर्षीय बच्चाको शव चिर्नु पनि आफूलाई निकै कठिन भएको उहाँले  बताउनुभयो । उहाँ भन्नुहुन्छ, “काम गर्नुपूर्व र काम गरेपछि मन त कुँडिन्छ तर पनि आफ्नो जिम्मेवारी नै त्यही भएकाले काम गर्नै पर्छ,” उहाँले भन्नुभयो, “मृत्यु भएको धेरै समय भएर सडिसकेका शव पनि आएका हुन्छन् तैपनि मैले आफूले पाएको जिम्मेवारीको काम त गर्नै प¥यो, घिन मानेर पनि हुँदैन ।” 

बेनी अस्पतालका मेडिकल अधिकृत डा. रामु सापकोटा भन्नुहुन्छ, “म बेनी आएपछि पोस्टमार्टम गर्ने समयमा कुनै पनि शवको म्यानेज गर्ने क्रममा चिरफार गर्ने, ‘ह्यान्डल’ गर्ने जस्ता सबै काम उहाँले गर्नुहुन्छ । लक्ष्मी दिदी आफ्नो काम गर्नका लागि निडर, कर्तव्य र जिम्मेवारीमा निकै बफादार हुनुहुन्छ ।” पद कार्यालय सहयोगी भए पनि उहाँको जिम्मेवारी र पोस्टमार्टममा जटिल प्रकारका पोस्टमार्टमसमेत उहाँले ढुक्कसँग व्यवस्थित तवरले अङ्ग निकाल्नमा र चिरफार गर्नमा सहयोग गर्ने गरेको डा. सापकोटाले बताउनुभयो । 

अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष बेलबहादुर कटुवालले लक्ष्मी सिस्टरबारे भन्नुभयो, “कुनै पनि काम गर्दिनँ र कुनै पनि समयमा काम गर्न आउन सक्दिनँ भन्ने कुरा उहाँले गर्नुहुन्न । आफ्नो जिम्मेवारी पूरा गर्ने इमानदार कर्मचारी हो ।” लक्ष्मी सिस्टरको सहयोगले गर्दा डाक्टरले सही रिपोर्ट दिने, प्रहरीले सही अनुसन्धान गर्ने, सरकरी वकिलले त्यही अनुसारको अभियोजन तयार गर्दै अदालतबाट निष्पक्ष न्याय सम्पादनसम्म भूमिका खेलेको छ ।

लक्ष्मी सिस्टर भन्नुहुन्छ, “मैले पनि एक वर्षमा १३०–१३५ लासको पोस्टमार्टम गर्ने काममा सहयोगी भूमिका गरेको छु, मलाई प्रतिलास दुई सय रुपियाँमा कर काटेर आउँछ ।” उहाँका भनाइमा यो काम गर्न सुरु सुरुका दिनमा त निकै गाह्रै भयो । उहाँले भन्नुभयो, “मैले यो विषयमा कुनै तालिम लिएको पनि होइन, डाक्टरले भने अनुसार काम गर्दै जाँदा अहिले सबै कुरा सिकेको छु ।”