• ३१ भदौ २०८२, मङ्गलबार

थोत्रो डुङ्गाको सहारामा महजिदिया गाउँ

blog

बबई समाचारदाता

बबई (बर्दिया), भदौ ३१ गते । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गतको महजिदिया गाउँका बासिन्दा अझै पनि आवतजावतका लागि १० वर्ष पुरानो डुङ्गाको भर पर्न बाध्य छन् । चारैतिरबाट बबई नदीले घेरिएको यो गाउँ भौगोलिक दृष्टिले टापु जस्तो देखिन्छ, जहाँ पुग्न कुनै पुल वा सुरक्षित यातायात सुविधा छैन । महजिदियाका ७० वर्षीय भुलही मल्लाह दैनिक जसो यही पुरानो डुङ्गाको सहारामा बबई नदी पार गर्नुहुन्छ । उहाँ मात्र होइन, गाउँभरिका बालबालिका, महिला, ज्येष्ठ नागरिकदेखि सबैले यही डुङ्गाबाट गाउँ र बजार ओहोरदोहोर गर्ने गरेका छन् ।

महजिदिया गाउँको पश्चिमतर्फ बग्ने बबई नदीले पछिल्ला वर्षमा धार परिवर्तन गरी पूर्वतर्फ पनि बग्न थालिसकेकाले गाउँ पूर्णतः नदीको बिचमा परेको छ । पूर्वतर्फ भारतको बहराइच जिल्लाको लौकाही बजार छ भने पश्चिमतर्फ नेपालको भूभाग रहेको छ । हरेक कामका लागि नदी तर्नुपर्ने भएकाले स्थानीय दिनहुँ जोखिम मोलेर डुङ्गामा यात्रा गर्छन् ।

२०७१ सालमा आएको बबई नदीको बाढीले त्यसबेला चलिरहेको डुङ्गा बगाएको थियो । त्यसपछि २०७२ सालमा स्थानीय काठ व्यापारी सन्तोष अर्यालले सहयोगस्वरूप एउटा डुङ्गा प्रदान गरेका थिए । जुन अहिलेसम्म पनि प्रयोग हुँदै आएको छ । स्थानीय बासिन्दा वैजनाथ मल्लाहले भन्नुभयो, “हाम्रो यातायातको साधन भनेकै यही थोत्रो डुङ्गा हो । पुरानो भइसकेको छ, जोखिम झनै बढेको छ ।”

नेपालतर्फको गुलरिया बजारसम्म पुग्न नदी पार गर्नु पर्छ । त्यसैले महजिदियाका अधिकांश बासिन्दाको दैनिक आवतजावत भारततर्फको लौकाही बजारमा हुने गरेको छ । जति बेला नदीमा पानीको सतह बढ्छ, त्यति बेला जोखिम अझै भयावह हुन्छ । झन्डै ६०/७० वर्षअघि भारतबाट मल्लाह समुदाय नेपाल आएर जमिनदारको खेत अधियाँमा लिने क्रममै महजिदियामा बसोबास सुरु भएको बताइन्छ । 

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नगरपालिकाले अघिल्लो चरणमा केही परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको भए पनि सबैलाई स्थानान्तरण गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमै घर सङ्ख्या बढ्दै गएको छ । यस्तो अवस्थामा दीर्घकालीन समाधानका लागि गाउँ नै स्थानान्तरण गर्नु उपयुक्त हुन्छ ।”