• २७ वैशाख २०८१, बिहिबार

खोला दोहन नरोकिए बस्ती जोखिममा

blog

उर्लाबारी, असार १४ गते । प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाले चिसाङ खोलाको दोहन नियन्त्रण गर्न नसके खोला किनारका बस्ती उच्च जोखिममा पर्ने बताउनुभएको छ । सोमबार मोरङको बेलबारी–१०, चिसाङ खोला पश्चिम किनार संरक्षण तथा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री थापाले बालुवा, गिट्टी र ढुङ्गा मानिसलाई आवश्यक प्राकृतिक वस्तु भएको बताउनुभयो । उहाँले तिनको प्रयोग गर्न नजान्दा प्राकृतिक प्रकोपले मानिसलाई दुःख दिइरहेको उल्लेख गर्दै चिसाङ खोलामा ठेक्का लागेकोभन्दा बढी दोहन हुँदा चिसाङले दुःख दिइरहेको बताउनुभयो । प्रकृति र वातावरण संरक्षणमा प्रदेश नं. १ सरकार क्रियाशील रहने बताउँदै मन्त्री थापाले भन्नुभयो, बायो इन्जिनियरिङ गरी चिसाङ खोलाले गर्ने क्षतिलाई न्यूनीकरण गर्न सबै तहका सरकारले सक्रियता देखाउनु पर्छ । 

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विपत् व्यवस्थापनका लागि हरेक वर्ष जुट्नुभन्दा विपत् व्यवस्थापनका लागि दिगो कार्यक्रम आवश्यक भएको बताउनुभयो । खोलामा हुने अत्यधिक दोहनले खोला किनार क्षेत्रका बासिन्दा सङ्कटमा पर्दै गएको बताउँदै उहाँले खोलालाई ग्रिन बेल्ट (हरितपेटी) लगाएर खोला किनारका बस्तीकोे सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वपश्चिम राजमार्गको ‘लाइफलाइन’का रूपमा रहेका पुलहरूको संरक्षणका लागि राज्यको मात्र भर नपर्न आग्रह गर्दै उहाँले समुदायस्तरबाट पनि चासो राख्नुपर्ने बताउनुभयो । 

प्रदेश नं. १ को वन मन्त्रालयका सचिव डाक्टर सञ्जीव राईले खोलाको कटान रोक्नका लागि बाँस र खयर जातिका दुई हजार ८५० बिरुवा रोप्न लागिएको बताउनुभयो । गत वर्षको कात्तिक २ र ३ गते चिसाङ खोलामा आएको बाढीले पूर्वपश्चिम राजमार्गको कानेपोखरी पश्चिमतर्फको चिसाङ पुल नै ढाल्न लागेपछि तत्काल आपत्कालीन रोकथाम गरिएको थियो । खोलाले पुल उत्तरपश्चिमको दुई बिघा जङ्गल क्षेत्र कटान गरेपछि सोही स्थानमा डिभिजन वन कार्यालय मोरङले सोमबार वृक्षरोपण गरेको हो । 

सडक डिभिजन कार्यालयले गत माघ-फागुनमा चिसाङ खोलाको पश्चिम पट्टिको डिलबाट उत्तरतर्फ साढे १४ सय मिटर उच्च बाँध निर्माण गरेको थियो । बाँधबाट पश्चिमतर्फको कटान भएको जग्गामा बाँस र खयरका बिरुवा रोपिएको हो ।