हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), भदौ ३० गते । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डमा सुख्खा पहिरो पन्छाउन नेपाली सेनाले ब्लास्टिङ गरेर पन्छाउने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को सिमानामा पर्ने काभ्रेभीरमा सडकमाथिबाट ठुलाठुला ढुङ्गा खसेपछि आइतबार दिनभरी मेसिनले पन्छाउन नसकिएपछि ‘ड्रिलिङ’ थालिने भएको हो ।
सडकखण्डमा चार–पाँच वटा ठुला ढुङ्गा हटाउन नेपाली सेनाको इन्द्रबक्स गणले ब्लास्टिङको काम सुरु गरेपछि सडक नियमित सञ्चालनमा आउने मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो ।
प्रजिअ भुषालले भन्नुभयो, ‘‘ड्रिलिङ सकिएपछि विहान दस बजेबाटै ब्लास्टिङ हुन्छ, उक्त क्षेत्र निरन्तर पहिरो खस्ने भएकाले जोखिम पनि छ ।’’ सडकमा ठुलाठुला ढुङ्गा खसेकाले ब्लास्टिङ गर्नुपर्ने अवस्था आएको कालिगण्डकी करिडोरले जिल्ला सुरक्षा समितिसँग अनुरोध गरेको थियो । ड्रिल गर्ने मेसिनसहित विस्फोटक पदार्थ लिएर नेपाली सेनाको टोली साइडमा पुगिसकेको अवस्थामा सोमबार साँझसम्म सडक सञ्चालनमा आउने अनुमान गरिएको छ ।
उक्त क्षेत्रमा सडक विस्तार तथा अवरुद्ध हुँदा पटकपटक विस्फोटक पदार्थ प्रयोग गरिएको छ । सडक अवरुद्ध भएपछि उत्तरी म्याग्दी हुँदै मुस्ताङ जाने र मुस्ताङबाट फर्किने स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनका साथै स्याउसहित कृषि उपजका बस्तु ढुवानीका लागि गएका ट्रक समेत बाटोमै रोकिएको छ । सोह्र श्रद्धामा कागबेनी जाने धार्मिक तिर्थयात्रुलाई समेत पटकपटक सडक अवरुद्ध हुदाँ सास्ती भोग्नुपरेको छ ।
बेनी–जोमसोम–कोरला सडकमा भिरालो जमिन, भूमिगत पानी, कमजोर भुवनावटकै कारण बाढीपहिरोले अवरुद्ध हुने गरेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको सडक खण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्र मानिन्छ । बर्खाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।