मोहनसिंह बुढा
चङ्खेली (हुम्ला), भदौ ३० गते । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको चङ्खेली गाउँपालिकामा ‘फोरजी’ सञ्चालनमा आएपछि यहाँका नागरिक खुसी भएका छन् । गएका वर्षहरुमा टेलिफानेले समेत काम नगर्ने चङ्खेली गाउँपालिकामा फोरजी सेवाले काम गर्ने भएपछि अब घरमै बसेर काम गर्न सकिने भएको मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले बताउनुभयो । उहाँका अनुसार मेल्छामका केही घरहरुमा राम्रो काम गरी रहेको छ तर केही घरको बाहिर आउनु पर्ने भएको छ । गाउँपालिकाको चरिगाउँ, र्कोका, पुमा, राँती र निमा गाउँमा पनि बाहिर आएपछि काम गरी रहेको बताउनुभयो ।
विसं २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको जनाइए पनि हुम्लाको चङ्खेली गाउँपालिकामा टेलिफानेले समेत काम गर्दैन थियो, हामी व्यवसायीहरु बिहान घाम लागेपछि अग्लो डाडामा गएर फोन गर्ने र साँझ घाम अस्ताएसँगै टेलिफोन सेवा समेत अस्ताउनाले निकै समस्या भएको थियो । तर सोमबारदेखि फोरजी सेवा सञ्चालनमा आएपछि पसलबाटै सबै काम गर्न सकिने भएको पिप्लाङ्मा व्यवसाय गर्दै आएका दिपक थापाको भनाइ छ ।
यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेटसम्बन्धी काम गरिरहेका त्यहाँका नागरिक आफ्नो घरको कुनामै बसेर भिडियोकल गर्न पाएपछि खुसीको भएको हुम्ला चंखेली गाउँपालिकाका राजेन्द्र शाहीले बताउनुभयो ।
चंखेली गाउँपालिकामा फेरजी सेवा जडान गरेसँगै दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।
गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो ।
चङ्खेली गाउँपालिका– ३ को लामाकाँधमा राखिएको टावरले चङ्खेली गाउँपालिकाका केही बस्तीहरु सर्केगाड र मुगुको सोरु गाउँपालिकाका केही बस्तीहरुमा समेत काम गर्ने भएको छ ।
जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थाले पनि आफुहरुलाई कार्यालयको काम गर्न समेत सहज हुने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरविर शाहीको भनाइ छ । उहाँका अनुसार यस अघि ईन्टरनेट नहुँदा स्वास्थ्यसम्बन्धी डेटाहरु भर्ना समेत मुस्किल भएको थियो । अबदेखि सहज हुने भएको उहाँको भनाइ छ ।
गाउँमा फोरजीसम्मको सेवा पुर्याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला चंखेली गाउँपालिकाका शाहीले बताउनुभयो । फोरजी सेवा सुरु भएसँगै यहाँका विद्यालयमा डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ । उक्त गाउँपालिकामा यस अघि टेलिफोनले समेत काम गर्दैन थियो ।