• ३० भदौ २०८२, सोमबार

क्षतिको विवरण सङ्कलन सुरु

क्षति कम भएका कोठाबाट सेवा थालिँदै

blog

क्षतिग्रस्त हुन पुगेको विराटनगर महानगरपालिकाको कार्यालय सरसफाइ गर्दै महानगरका कर्मचारी । तस्बिर : महेन्द्र विष्ट

शशिधर पराजुली 

विराटनगर, भदौ ३० गते । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण सङ्कलनको काम भइरहेको जनाएको छ । कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले क्षति मूल्याङ्कनको काम सकिएसँगै प्रशासनिकस्तरमा सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको बतानुभएको छ । समग्र क्षतिको विस्तृत विवरण भने सोमबारसम्ममा उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो ।

प्रमुख सचिव पौडेलका अनुसार प्रदेशमा भएको आगजनीसम्मका सबै विवरण सङ्कलन भइसकेका छन् । मातहतका कार्यालयले पनि प्रतिवेदन तयार पारिसकेका छन् । प्रहरीमार्फत मुचुल्का तयार पार्ने काम पनि सम्पन्न भएको छ भने बिमा कार्यालयलाई समेत क्षतिसम्बन्धी विवरण पठाउने तयारी रहेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “क्षति मूल्याङ्कन गर्ने छुट्टै स्वीकृत विधि रहेकाले सोही विधि अनुसार सम्बन्धित निकायले काम गरिरहेको छ ।”

आन्दोलनका क्रममा विभिन्न मन्त्रालय तथा कार्यालयमा क्षति पुगेको थियो । प्रारम्भिक विवरण अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति भएको छ । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा मन्त्रालयका क्षतिग्रस्त स्थानको सरसफाइ भइसकेको छ । 

सबैभन्दा बढी क्षति भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको प्रमुख सचिवले बताउनुभयो । मुख्यमन्त्री कार्यालयको दोस्रो र तेस्रो तलामा भएको क्षतिको मूल्याङ्कन भइरहेको छ ।

प्रमुख सचिव पौडेलका अनुसार प्रदेश सरकारले जहाँ जस्तो अवस्था छ, त्यहीबाट सेवा प्रवाह सुरु गर्ने रणनीति बनाएको छ । उहाँले भन्नुभयो, “जहाँ ठाउँ छ, त्यहीको बसेर काम सुरु गर्ने छौँ । सबै ध्वस्त भएको अवस्थामा बाहिर टेन्ट राखेर भए पनि सेवा सुचारु गर्ने हिसाबमा छौँ ।” 

मुख्यमन्त्री तथा राजनीतिक नेतृत्वसँगको समन्वयका सम्बन्धमा प्रमुख सचिव पौडेलले हाल प्रशासनिक हिसाबले काम भइरहेको बताउनुभयो । उहाँले विगतमा यस विषयलाई संसदीय विषयका रूपमा हेरिएको भए पनि अहिले प्रशासनिक प्रव्रिmयामा गएको स्पष्ट पार्नुभयो । मुख्यमन्त्रीसँग ‘सामान्य सम्पर्क’ रहेको र पछिको अवस्थामा उहाँहरूसँग थप छलफल गरिने पनि प्रमुख सचिव पौडेलले उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पनि प्रशासनिक ढङ्गबाट क्षतिको विवरण सङ्कलन गर्ने, क्षतिग्रस्त संरचनाको सरसफाइ गर्ने र जे जस्तो अवस्था छ, त्यहीँबाट काम थाल्ने विषयमा मुख्यमन्त्रीलगायत सबैसँग छलफल सुरु गरेको जानकारी दिनुभयो । उहाँले केही दिनभित्रै कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुगिने बताउँदै अब शून्यबाट काम सुरु गर्नुको विकल्प नभएको बताउनुभयो । आगजनी हुनबाट जोगिएका प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जस्ता संरचनाले आइतबारबाट सेवा सुरु गरिसकेको पनि उहाँले बताउनुभयो । 

कार्यालयको सरसफाइ गरिँदै

यसैबिच मोरङ समाचारदाताका अनुसार विराटनगरका सरकारी कार्यालय बिस्तारै लयमा फर्किंदै छन् । कार्यालयले नियमित सेवा सुचारु गर्न नसके पनि सरसफाइको काम भने सुरु भएको छ ।  प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कर्मचारी र सुरक्षाकर्मीको सक्रियतामा आइतबारदेखि सरसफाइ कार्य सुरु भएको सोही मन्त्रालयका प्रवक्ता कमल थापाले बताउनुभयो ।   त्यसै गरी कोशी प्रदेशका ऊर्जा तथा खानेपानी, भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रालय पनि आइतबारदेखि नै सरसफाइ कार्य सुरु गरिएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका, डिभिजन वन कार्यालय, डिभिजन सडक कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, प्रदेश हुलाक कार्यालयमा पनि कर्मचारीले आइतबार सरसफाइ गरेका छन् । कतिपय कार्यालयका भौतिक सामग्री लुटपाट भएको, कागजात जलेर नष्ट भएका कारण कार्यालयको नियमित सेवा सञ्चालनमा आउन भने अझै समय लाग्ने कर्मचारी बताउँछन् । 

जिल्ला प्रशासन कार्यालय मोरङमा सरसफाइ सकिए पनि सेवाग्राहीलक्षित सेवा सुचारु हुन सकेको छैन । मोरङ जिल्ला प्रशासन कार्यालयले आइतबार नै एक हस्तलिखित सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवाग्राही लक्षित सेवा स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताउनुभयो । आन्दोलनका क्रममा सरकारी कार्यालयमा मात्र नभएर नेकपा (एमाले), नेपाली कांग्रेसका जिल्ला तथा प्रदेश कार्यालय आन्दोलनकारीको निसानामा परेकाले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । हाल ती कार्यालयको सरसफाइ भइरहेको छ । 

जेनजीको आन्दोलनका क्रममा निसानामा परेको प्रदेश सभा जलेर ध्वस्त भएको छ  । आगजनीका कारण अहिले कोशी प्रदेश सभामा भवन र खरानी मात्रै बाँकी रहेको छ । सचिवालयका एक कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी, कम्युटर, प्रिन्टर, क्यामरालगायतका उपकरण चोरी भएको छ । मङ्गलबार राति अबेरसम्म मुख्यमन्त्री कार्यालयको सामान लुटेर लगेको एक कर्मचारीले बताए ।