विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ३० गते । सप्तरीको सुरुङ्गा नगरपालिकामा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिका– ५ स्थित जिनिस अस्पताल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
आइतबार साँझ पूर्व पश्चिम राजमार्गमा कुशहादेखि कदमाहातर्फ आउँदै गरेको मधेश प्रदेश–०१–००५–प ५५११ नम्बरको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका– ९ परमानपुर निवासी ३० वर्षीय अनिलकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते चौधरीलाई नजिकै रहेको जिनिस अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो ।
सोही मोटरसाइकलमा पछाडि सवार सुरुङ्गा नगरपालिका– ७ चकदह टोलका १८ वर्षीय राधेश्याम चौधरी घाइते भएका छन् । उहाँको त्यहाँ जिनिस अस्पतालमै उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई मृतक चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान, सिराहा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।