नवीनराज कुइँकेल
लमजुङ, भदौ ३० गते । केही दिनदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ-पोखरा सडक खण्ड अवरुद्ध भएको छ । सोमबार बिहान मध्यनेपाल नगरपालिका-९, बिमिरेभन्ज्याङमा माथीबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
सो क्षेत्रमा रुख र चट्टानसहितको ठुलो पहिरो खसेको स्थानीयले बताएका छन् । अहिलेपनि स–साना पहिरो र ढुङ्गाहरू झरिरहेकाले यातायात सञ्चालन बन्द भएको छ । स्थानीय सुरज गुरुङका अनुसार पहिरोले लमजुङबाट पोखरा जान लगेका र पोखराबाट लमजुङतर्फ आएका सवारी साधनहरू पहिरोले रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार शाह तेलीले पहिरो हटाएर सडक खुलाउनका लागि पहल भैरहेको बताउनुभयो । उहाँले सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गरेर पठाइएको बताउनुभयो ।