हरिकृष्ण ऐडी
मुगु, भदौ ३० गते । जिल्लाको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका, मुगुमकार्मारोङ र खत्याड गाउँ पालिकाका उपभोक्तालाई लक्षित गरी कम्पनी लिमिटेडको कार्यालय मुगुबाट सोमबारबाट सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो ।
खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रबन्धक केशव गिरीका अनुसार खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको कार्यविधि अनुसार दुर्गम हिमाली भेगका उपभोक्ताको सहजका लागि भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैं तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लामा सहुलियतको चामल, तेल, चिनी बिक्री सुरु भएको हो ।
उहाँले भन्नुभयो, ‘‘यो वर्ष चाडपर्वका लागि जिल्लाको खत्यड गाउँपालिकाको श्रीकोटमा रहेको डिपोबाट चार सय क्विन्टल चामल, जिल्लाको बिक्री केन्द्रबाट तेल दुई हजार लिटर र चिनी दुई हजर क्विन्टल सहुलियतमा बिक्री गर्ने लक्ष्य छ ।
कम्पनीले अहिले जिरा मसिनो र सोना मनसुली गरी आठ थरीको चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट, तेलमा प्रति लिटरमा सात रुपियाँ र चिनीमा सात रुपियाँका दरमा उपभोक्ताले सहुलियत पाउने कार्यालयले जनाएको छ ।