महोत्तरी समाचारदाता
महोत्तरी, भदौ ३० गते । जेनजी आन्दोलनका क्रममा सुरक्षामा चुनौती थपिएपछि जिल्लाका विभिन्न ठाउँका चौकी छाडेर हिँडेका जिल्ला प्रहरी कार्यालयका प्रहरी फिर्ता हुन थालेका छन् । जिल्लामा निषेधाज्ञा र कफ्र्यु हटेसँगै जनजीवन सामान्य हुन थालेपछि प्रहरी आफू कार्यरत चौकीमा फर्किन थालेका हुन् । सो क्रममा आइतबार सोनमा गाउँपालिकाको मगरथाना र औरहीको प्रहरी चौकीलगायतका ठाउँमा प्रहरी फिर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले आन्दोलनका क्रममा आधा दर्जन चौकीका प्रहरी जिल्लामा आएको जानकारी दिँदै जनजीवन सामान्य हुन थालेपछि फर्किएको बताउनुभयो ।
सोनमा गाउँपालिकाको मगरथाना प्रहरी चौकीबाट जिल्ला गएका प्रहरी आइतबार कार्यक्षेत्रमा फर्किएपछि स्थानीयवासीले उनीहरूलाई फूलमालासहित स्वागत गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि प्रहरी अपरिहार्य रहेको भन्दै प्रहरी फर्किएकोमा खुसी व्यक्त गर्नुभयो ।
मगरथाना प्रहरी चौकी प्रमुख दीपेन्द्रकुमार यादवले चौकी चारैतिर पर्खाल नहुँदा सुरक्षा चुनौती बढिरहेको भन्दै गाउँपालिका अध्यक्षसँग पर्खाल निर्माणका लागि आग्रह गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष यादवले मगरथाना प्रहरी चौकीको चारैतिर पर्खाल निर्माणका लागि गाउँपालिकाले रकम विनियोजन गरिसकेको जानकारी गराउँदै यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने बताउनुभयो ।
सो अवसरमा इलाका प्रहरी चौकी खैरबनीका इन्चार्ज रवीन्द्र मिश्रले सुरक्षा प्रहरीको मात्रै जिम्मेवारी नभई प्रहरी र नागरिक दुवैको सहकार्यबाट मात्रै सम्भव भएको भन्दै स्थानीयवासीसँग सहयोगको आग्रह गर्नुभयो ।
त्यसै गरी औरही नगरपालिका–१ स्थित औरही प्रहरी चौकीमा कार्यरत प्रहरी पुनः आफ्नो जिम्मेवारीमा फर्किएपछि स्थानीयवासीले फूलमालाले स्वागत गरेका थिए ।