• ३० भदौ २०८२, सोमबार

तनहुँमा १५३ जनामा डेंगु सङ्क्रमित

blog

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की    
तनहुँ, भदौ ३० गते ।
तनहुँ जिल्लामा डेंगु सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । भदौ २९ गते आइतबारसम्म जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरी १५३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाभर डेंगुको जोखिम बढ्दै गए पनि सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिका प्रभावित बनेको छ । “हालसम्म सङ्क्रमणको अवस्था नियन्त्रण योग्य छ, तर नागरिकले सावधानी अपनाएनन् भने थप फैलिन सक्ने खतरा छ,” कँडेलले चेतावनी दिनुभयो ।

जिल्लाका अन्य पालिकामा समेत डेंगु क्रमशः फैलिरहेको छ । बन्दीपुर गाउँपालिकामा १५ जना, भिमाद नगरपालिकामा १४ जना, म्याग्दे गाउँपालिकामा १३ जना, आँबुखैरेनी र व्यास नगरपालिकामा नौ÷नौ जना सङ्क्रमित भेटिएका छन् । त्यस्तै, घिरिङ गाउँपालिकामा चार जना, सबैभन्दा थोरै भानु नगरपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा छन् । ति पालिकामा एक÷एक गरी तीन जनामा सङ्क्रमण भएको छ । यस्तै अन्य जिल्ला स्थायी घर भई हाल तनहुँ जिल्लामा जिल्लामा बसोबास गर्ने थप १२ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार आवश्यक सतर्कता नअपनाए सङ्क्रमण अझै फैलिन सक्ने चिन्ता छ । जनस्वास्थ्य कार्यालयले डेंगु रोकथामका लागि सरसफाइलाई प्रमुख प्राथमिकता दिन आग्रह गरेको छ । विशेषगरी घर वरपर जम्ने पानी तत्काल फाल्ने, ट्याङ्की वा ग्यालिन जस्ता भाँडाकुँडामा ढक्कन लगाउने, मच्छरदानी प्रयोग गर्ने र बिहान–साँझ लामखुट्टे सक्रिय हुने समयमा शरीर पुरै ढाक्ने कपडा लगाउन सुझाव दिइएको छ ।

भिमाद नगरपालिकाकाको उपप्रमुख शारदा खनालले नागरिकको सक्रियता अत्यावश्यक रहेको बताउनुभयो । “फगिङ र सचेतनामूलक अभियान नगरपालिका स्तरबाट भइरहेको छ ।  लामखुट्टेको प्रजननस्थल नहटाएसम्म डेंगु नियन्त्रण असम्भव हुन्छ, त्यसैले हरेक घरपरिवार सक्रिय हुनुपर्छ,” उहाँको भनाइ छ ।