• २६ भदौ २०८२, बिहिबार

पाथीभराको ‘हेल्थ डेक्स’ भवनमा आगजनी

blog

आगजनीबाट क्षति भएको पाथीभरा क्षेत्रमा निर्माण गरिएको ‘हेल्थ डेक्स’ भवन ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २६ गते । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता कक्ष) भवनमा आगजनी गरिएको छ । पाथीभराधाम प्रवेशद्वार नजिक रहेको हेल्थ डेस्क र टि हाउस (चिया घर) मा बुधबार राति आगजनी गरिएको हो ।

प्रहरीका अनुसार अज्ञात समूहले गरेका आगजनीबाट हेल्थ डेस्क र टि हाउस गरी दुई वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आगजनी घटनाबारे अनुसन्धान र संलगनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार बढइँले जानकारी दिनुभयो । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा उक्त संरचना निर्माण गरिएका थिए । केही समय पहिले नै निर्माण सम्पन्न गरिएका भवनहरु सञ्चालनमा ल्याउन सुरु नभई आगजनी भएको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो ।

सञ्चालनमा नआई हालसम्म खाली रहेको उक्त भवनमा पाथीभरा केबलकार निर्माणका सामग्री राखिँदै आएको बताइएको छ । समितिका एक कर्मचारीका अनुसार हेल्थ डेस्क र टिहाउसमा सिमेन्ट लगायतका अन्य सामग्री राखिएको थियो । हाल जेनजी पुस्ताको आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएको मौका छोपेर आगजनी गरिएको हुनसक्ने स्थानीय बताउँछन् ।