• २६ भदौ २०८२, बिहिबार

दाङमा सरकारी संरचना जलेपछि नागरिकलाई सेवा अनिश्चित

blog

सन्तोष दहित
दाङ, भदौ २६ गते ।
प्रदर्शनका क्रममा सरकारी अड्डामा आगजनी र तोडफोड भएपछि नागरिकले दैनिक पाउने सेवा अनिश्चित बनेको छ । स्थानीय सरकारसँग प्रत्यक्ष जोडिएका कार्यालय, कम्प्युटर, इन्टरनेट सेवा र फाइलहरू नष्ट हुँदा तत्काल सेवाप्रवाह रोकिएको हो ।

भ्रष्टाचार निवारण तथा सामाजिक सञ्जाल नियन्त्रणको मागसहित सुरु भएको आन्दोलनमा दाङमा मात्रै पाँच दर्जनभन्दा बढी सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । यस्तै, विभिन्न पार्टीका कार्यालय, सार्वजनिक तथा व्यावसायिक भवन तथा नेताहरूका घरमा समेत आगजनी गरिएको छ ।

क्षतिको एकिन विवरण सङ्कलन भइरहेको भए पनि प्रारम्भिक अनुमान अनुसार करोडौँको क्षति भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार कार्यालयमा रहेका कम्प्युटर, कुर्सी, टेबल, फाइल र दस्तावेजहरू पूर्ण रूपमा नष्ट भएका छन् । आगजनीको कारण दाङका सबै सरकारी कार्यालय खण्डहर बनेका छन् । यस अवस्थाले सामान्य नागरिकले पाउने सेवा अनिश्चित बनेको अधिकारीहरूको भनाइ छ ।