रवीन्द्र उप्रेती
बर्दिबास, भदौ २५ गते । जेनजीको नाममा बर्दीबास १ स्थित सङ्घीय मन्त्री शरदसिंह भण्डारीको घर, वडा नं ३ गौरीडाँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवको घरमा तोडफोड र आगजनी भएको छ ।
राति नै नगर प्रमुख प्रहलाद क्षेत्रीको बर्दीबासस्थित घरमा पनि ढुङ्गामुढा भएको छ । राजमार्गका ट्राफिक डिभाइडरमासमेत क्षति पुर्याई सडक अवरोधको प्रयास गरिएको छ ।
दिनभरजसो प्रदर्शन शान्तिपूर्ण रहे पनि मङ्गलबार ६ बजेतिर भेला भएका समूहले मन्त्री भण्डारीको ४ तले भवनको उत्तर र पूर्वतर्फबाट आगजनी गरेका थिए ।
आगजनीबाट भवनमा लामो समयदेखि सञ्चालन हुँदै आएको होटल पावन मिथिलाका लेखापाल सहित २ जना घाइते छन् । दुवैजनाको बर्दीबासस्थित शुभ स्वस्तिक असमलातमा उपचार चलिरहेको जनाइएको छ । आगजनीबाट भवन र होटलमा ठुलो क्षति भएको छ ।
सोही समूहले राति नै ढुङ्गमुढा गर्दा नगर प्रमुख प्रहालाद क्षेत्रीको घरका सिसाहरू चक्नाचुर भएका छन् । छिमेकीका अनुसार एक डेढ सयका सङ्ख्यामा आएका समुहले घरमा अन्धाधुन्ध ढुङ्गा प्रहार गरेका थिए । केही दिनदेखि नगर प्रमुखसहित घरका परिवार बाहिर रहेकोले घटनाबारे थप विवरण प्राप्त हुन सकेन ।
यसअघि मङ्गलबार अपरान्ह साढे ४ बजेतिर बर्दीबासबाट गौरीडाँडा उक्लेको युवाहरूको ठुलो समूहले सबैभन्दा पहिले अख्तियारस्थित सुरक्षाकर्मी क्वार्टरमा ढुङ्गामुढा सुरु गरेका थिए ।
लगत्तै उत्तरतर्फको अख्तियारको बोर्ड उखेलेर बिपी राजमार्गमा ल्याई टायर बालेका थिए । त्यसपछि मूलगेट भत्काएर अख्तियार परिसरभित्र प्रवेश गरेका समुहले टायर बालेर कार्यालय भवनहरूमा ढुङ्गा बर्साउनुका साथै फूलका गमलाहरू तोडफोड गरेका थिए । अख्तियारको मूल गेट बाहिर रहेको सिसी क्यामेरा र बल्व पनि तोडफोड गरिएको छ ।
अख्तियार प्रवक्ता झवेन्द्र चापागाईले क्षतिबारे अहिले एकिन नभए पनि करिब तीन दर्जन भ-यालका सिसा फुट्नुका साथै ५० वटाजति फूलका गमलामा क्षति पुगेको बताउनुभयो ।
कार्यालय परिसरभित्र तोडफोड र आगजनी क्रममा साँझ ६ बजेतिर झमझम पानी पर्न थालेपछि युवा समुह तितरबितर भएको थियो ।
वर्षा केही मत्थर भएपछि सोही युवा समुह घरमा कोही नभएको मन्त्री यादवको घरको ताला तोडी तोडफोड र आगजनी छन् । घरका सबै समग्री जलेको छ । छिमेकीहरूका अनुसार आगजनीका घरभित्र रहेको २ वटा ग्यास सिलिन्डर पालैपाले विस्फोट भएको थियो । सिलिन्डर विस्फोटले घरमा ठुलो भौतिक क्षति भएको छ ।
घटनाको बेला आफू घरमा नरहेकोले अहिलेसम्म के कति क्षति भयो स्पष्ट नभएको प्रदेश मन्त्री यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो घरभित्रै पसेर तोडफोड र आगजनी भएको छ । सिलिन्डर पनि विस्फोट भएको सुनेको छु । म बाहिर छ के के क्षति भयो थाहा छैन ।’
आगजनी भए पनि समयमै वारुणयन्त्र पुग्न नसक्दा रातभरजसो दुवै मन्त्रीका घरमा आगो दन्किरहेको प्रत्यक्षदर्शीले जनाएका छन् । साँझपख लामो समयसम्म लाइन कटेकोले पनि अवस्था थप जटिल भएको छिमेकीहरूले जनाएका छन् ।
बर्दीबासका सडकमा बुधवार बिहानैदेखि बख्तरबन्द वाहनसहित सेना परिचालन भएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले अर्को आदेश नआउजेलसम्मका लागि मङ्गलबार रातिदेखि जिल्लाभर कपःर्यु आदेश जारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेनालगायतका सुरक्षाकर्मी परिचालित भइसकेका छन् । कर्फ्युको पालना गर्न, घरबाहिर ननिस्कन, सुरक्षित रहन भनि सम्झाउने बुझाउने काम भइरहेको छ ।’
सेनाले पनि बुधबार बिहानैदेखि माइकिङ गरी मानिसहरूलाई भीडभाड नगर्न र आ आफना घर फर्कन आग्रह गरिरहेको छ ।
मङ्लबारदेखि यातायात सञ्चालन नहुँदा जनजीवन कष्टकर बनेको छ । शिक्षण संस्थाहरूमा मङ्गलबार शोक बिदा दिए पनि सुरक्षा अवस्थाका कारण अभिभावकले छोराछोरी नपठाउदा बुधबार पनि स्कुल विद्यालय सुनसान देखिएको छ ।
यसैगरी, होटल पावन मिथिलामा आगजनी भएपछि बर्दीबासका होटल व्यावसायीले असुरक्षा महशुस गरेका छन् ।
बर्दीबास होटलको हव हो । यहाँ साना ठुला गरी करिब ५२ वटा होटल छन् । मङ्गलबार रातिको घटनाले सुरक्षा स्थित भरपर्दो नभएपछि यसको प्रभाव व्यावसायमा परेको जनाएका छन् ।
घटनाको गम्भिरतालाई दृष्टिगत गर्दै नगर क्षेत्रका होटल व्यावसायीले आज बुधबार बिहानदेखि आकस्मिक बैठक राखी छलफलमा जुटेका छन् ।
‘रातिको घटनाले मुलुकमा राज्यको उपस्थिति नै नरहेको अवस्थामा कसरी गरी खाने ? अवस्था अराजक हुँदै गएको छ । पावन मिथिला होटल, मन्त्रीका घर र अख्तियारमा लगाइएको आगोले सबैलाई पोलेको छ । त्यही विषयमा छलफलमा जुटका छौँ,’ एक होटल व्यवसायीले बताउनुभयो ।