अमरराज नहर्की
तनहुँ, भदौ २६ गते । तनहुँमा चर्किएको जेनजी आन्दोलनले सरकारी कार्यालयहरूमात्र होइन, न्यायालयलाई समेत ठप्प बनाएको छ । आन्दोलनकारीले मङ्गलबार साँझ तनहुँ जिल्ला अदालतमा आगजनी गरेपछि बुधबारदेखि अनिश्चितकालका लागि मुद्दा सुनुवाइ बन्द गरिएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार आगलागीले भवन सुरक्षात्मक रूपमा कमजोर बनेको छ भने आवश्यक कागजात, फाइल र अभिलेख जलेर नष्ट भएका छन् । “भवन असुरक्षित छ, मुद्दा हेर्नुपर्ने आधारभूत कागजात नै नष्ट भएको कारण तत्काल सुनुवाइ सम्भव छैन । वातावरण सामान्य नभएसम्म अदालत बन्द रहन्छ,” आचार्यले बताउनुभयो । अदालतले दैनिक सयौं मुद्दा हेर्ने र सेवा–प्रक्रिया सञ्चालन गर्ने गदर्थ्यो । सुनुवाइ रोकिएपछि थुनुवा मुद्दा, जग्गा–जमिन विवाद, पारिवारिक मुद्दा लगायतका कानुनी प्रक्रिया अवरुद्ध भएका छन् ।
कानुन व्यवसायीहरू पनि यो अवस्थाले चिन्तित बनेका छन् । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले भन्नुभयो, “न्यायपालिकामाथि भएको सिधा आक्रमण गम्भीर विषय हो, अदालत बन्द हुँदा नागरिकको आधारभूत हक नै खोसिएको छ । राज्यले तत्काल विकल्प खोजेर कानुनी प्रक्रिया निरन्तरता दिनुपर्छ ।” जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले अदालतमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार तथ्याङ्क सङ्कलन गरी उच्च निकायलाई प्रतिवेदन पठाउने तयारी भइरहेको छ ।
यसअघि पनि आन्दोलनकारीले जिल्ला समन्वय समिति, जिल्ला कारागार, मालपोत, नापी, आन्तरिक राजस्व, खानेपानी, पूर्वाधार विकास, सरकारी वकिल कार्यालयलगायतका कार्यालयमा आगजनी गरेका थिए । त्यसै क्रममा अदालत समेत क्षतिग्रस्त बनेपछि न्यायिक प्रक्रिया पूर्ण रूपमा अवरुद्ध भएको हो ।