अमरराज नहर्की
तनहुँ, भदौ २६ गते । तनहुँमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता घटनाप्रति चार संस्थाले गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त अपिल जारी गरेका छन् । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्र, महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्ती र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले बुधबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनमा घुसपैठ गर्ने अराजक तत्वलाई रोक्नुपर्नेमा जोड दिएका हुन् ।
विज्ञप्तिमा आन्दोलनकै क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
“चित्त नबुझ्ने विषयमा नागरिकले आफ्नो विमति राख्नु र विद्रोह गर्नु लोकतान्त्रिक अधिकार हो । तर यसको नाममा निजी सम्पत्ति माथि आक्रमण हुनु, व्यवसायिक प्रतिष्ठान तोडफोड हुनु र रोजगारीका अवसर गुमाउनु दुःखद हो,” विज्ञप्तिमा उल्लेख छ ।
सोमबार र मङ्लबार आन्दोलन चर्किँदा जिल्लास्थित दर्जनौँ सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । जिल्ला समन्वय समिति, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, उर्जा तथा जलस्रोत लगायतका संरचना ध्वस्त भएको स्थानीय प्रशासनले जनाएको छ । कारागारबाट ३२७ जना कैदीबन्दी फरार भएको घटनाले सुरक्षा निकाय थप दबाबमा परेको छ ।
त्यस्तै, व्यास नगरपालिकाको सवारी साधनमा आगजनी गरिएको छ भने वडा कार्यालय, शिक्षा तालिम केन्द्र तनहुँ, डिभिजनवन कार्यालय, आन्तरिक राजस्व कार्यालय, र विभिन्न प्राविधिक कार्यालय पनि आन्दोलनकारीको निशानामा परेका छन् । कार्यालयका महत्त्वपूर्ण कागजात तथा उपकरण जलेर नष्ट हुँदा जनसाधारणलाई सेवा लिन कठिनाइ भएको छ ।
निजी व्यवसायिक क्षेत्र पनि आन्दोलनको प्रभावबाट जोगिन सकेन । व्यास, दमौलीलगायत बजार क्षेत्रमा पसल तथा व्यापारिक प्रतिष्ठानमा ढुङ्गामुढा, लुटपाट र आगजनीका घटना भएका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष मिश्रले यस्ता गतिविधिले राज्यलाई कर तिर्ने व्यवसायीलाई निराश तुल्याउने र युवाहरू रोजगारीको अवसरबाट बञ्चित हुने चेतावनी दिनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको दमौली स्थित घर, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायतको घरमा तोडफोड भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रका कार्यालय भवनमा आगजनी तथा तोडफोड भएको छ ।
चाडपर्वको मुखमा जनजीवन प्रभावित भएको भन्दै अभिभावक, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार तथा बुद्धिजीवी सबै मिलेर शान्ति र सहजता कायम गर्न पहल गर्न अपिल गरेका छन् । संयुक्त विज्ञप्तिमा भोलिका दिन यस्ता घटनाहरू नदोहोरियोस् भन्ने चेतावनी दिँदै सङ्क्रमणकाल लम्बिँदा अराजकता अझ फैलन सक्ने भनाइ समेत राखिएको छ ।