सुधा देव
भारदह(सप्तरी), भदौ २६ गते । सप्तरीको राजविराजस्थित रहेको कारागारको अवस्था बिहीबार सामान्य बनेको छ ।
कारागारको ताल्चा तोडेर एक सय ९३ जना कैदी बुधबार भागेपछि दिनभर तनावग्रस्त अवस्थामा रहेको कारागार अहिले सामान्य अवस्थामा बनेको राजविराज कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो ।
अहिले कारागारमा नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीले कडा सुरक्षा दिइरहेको उहाँले बताउनुभयो ।
कारागारको ए र बी ब्लक फुटाएर बुधबार एक सय ९३ कैदी बन्दीहरू कारागारबाट भागेका थिए । जसमध्ये करिब ३० जना समातिएको र समातिएकाहरू यहीँ कारागारकै हो भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।
भाग्नु अघि उनीहरूले कारागारतोडफोड गरेर आगो लगाएका थिए । भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना कैदी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
हाल कारागारमा तिनसय ९५ कैदीबन्दी रहेका छन् । फरार कैदी बन्दी केही समातिए पनि बाँकीको खोजी कार्य जारी रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।