टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), भदौ २६ गते । गुल्मीमा कतै विद्यालय सञ्चालन त कतै बन्द हुने अवस्था रहेको छ । जेनजी आन्दोलनको क्रममा विद्यार्थीको मृत्युको शोकमा बिदा गरिएका विद्यालय पछिल्लो परिस्थितिका कारण बन्द थिए । अहिले अवस्था सामान्य बन्दै गएपनि स्थानीय तह विद्यालय सञ्चालनका विषयमा एकमत छैनन् ।
धुर्कोट गाउँपालिकाले २४ गते शोक बिदा बाहेक निर्वाध विद्यालय सञ्चालन गरिरहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिनुभयो । चन्द्रकोट गाउँपालिका प्रमुख युवराज खत्री क्षेत्रीले अनिश्चित कालका लागि बन्द रहेको बताउनुभयो । मालिका गाउँपालिका प्रमुख देविराम अर्यालले विद्यालयहरूले स्थानीय बिदा राखेको जानकारी दिनुभयो । रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले सम्भवत आइतबारबाट विद्यालय सञ्चालन हुने बताउनुभयो ।
इस्मा गाउँपालिका उपप्रमुख अधिवक्ता पार्वति कुवँरले विद्यालयहरूसँग समन्वय भइरहेकाले बुझेर निर्णय गर्ने बताउनुभयो । प्याब्सन गुल्मीका अध्यक्ष राजु कुवँरले आज पनि सबै विद्यालय बन्द गर्ने निर्णय भएको बताउनुभयो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले विद्यालय, पसल व्यावसाय, यातयातलगायतका सबै क्षेत्र निर्वाध सञ्चालन हुने बताउनुभएको छ । गुल्मी जिल्ला शान्तिपूर्ण रहेकाले कर्फ्यू लगाउने अवस्था समेत नभएकाले ढुक्कका साथ विद्यालय, पेसा व्यवसाय र यातयात सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “बन्द कसैले गरेका होइनन् आफैलाई असहज लागेर बन्द भएको हो । ढुक्क भएर विद्यालय, यातयात र पेसा व्यावसाय सञ्चालन गरौं ।” प्रदर्शनकारीले गुल्मीमा एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालयका अत्यावश्यक कागजातसहित सामग्रीहरूमा आगजनी भएका छन् । बुधबारबाट नेपाली सेनाले गस्ती गरिरहेको छ । जिल्ला कारागारको सुरक्षा व्यवस्था पनि चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनुभयो ।