• २५ असार २०८१, मङ्गलबार

पर्याप्त पानी नपर्दा पाल्पामा ५० प्रतिशत मात्रै धान रोपाइँ

blog

पाल्पाको माडी फाँटमा रोपाइँमा व्यस्त किसान । तस्बिर - रेखीराम राना

रेखीराम राना

पाल्पा, असार १३ गते । पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष यही समयमा ५० प्रतिशत खेतीयोग्य भूभागमा धान खेती भएको थियो । यो वर्ष पर्याप्त वर्षा नहुँदा धान खेतीका लागि आवश्यक पर्ने पानीको जोहो हुन सकेको छैन ।  

दुई साताअघिदेखि नै मनसुन सुरु भए पनि पाल्पामा हालसम्म पर्याप्त पानी परेको छैन । पानी नपर्दा पानीका मुहान सुकेर कुलो तथा नहरमा पानी बगेको छैन । यसले पाल्पाका धान खेती गर्ने किसानले समयमै धान रोप्न नपाउने हो कि भन्ने चिन्ता गर्न थालेका छन् । 

गत वर्ष यही समयमा पाल्पाको माडी, रामपुर, अर्गली, कचल, पूर्वखोला, झडेवा फाँटमा ५० प्रतिशत  धानखेती हुने स्थानमा रोपाइँ सकिएको थियो । 

‘‘यो वर्ष पानी नपरेकाले धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । यो वर्ष पानी राम्रोसँग परेको छैन ।’’ उहाँले भन्नुभयो ‘‘किसानले बनाएका धानको ब्याड छिप्पिएको छ । पानी नपर्दा कतिपय स्थानमा अझैँ ब्याड राख्न बाँकी छ ।’’ 

पाल्पामा नौ हजार छ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । त्यसमध्ये असारको दोस्रो साता बितिसक्दा १५÷२० प्रतिशत मात्र रोपाइँ भएको छ । मकै खेती भएका रामपुर र अर्गली फाँटमा अझैँ धान रोप्ने समय भए पनि मकै खेती नभएका फाँटमा भने धान रोप्न ढिलाइ भएको किसानको भनाइ छ । 

समयमै धान रोप्न नपाउँदा धानको उत्पादन घट्ने किसानको भनाइ छ । यो वर्ष समयमै पानी पनि नपर्ने र मल पनि नपाउने समस्याले धान उत्पादन घट्न सक्ने माडी अम्लिहानका किसान बुद्धबहादुर बस्यालले बताउनुभयो । समयमा मल पनि नपाउने र समयमा धान रोप्न नपाउने समस्याले उत्पादन घट्न सक्छ, बस्यालले भन्नुभयो ।