सन्तोष दहित
दाङ, भदौ २५ गते । जेनजी आन्दोलन चर्किएसँगै दाङमा करोडौं मूल्यबराबरको भौतिक संरचना नष्ट भएको छ । प्रदर्शनकारीले व्यापक तोडफोड र आगजनी गरेपछि जिल्लाभरका विभिन्न सरकारी तथा राजनीतिक पार्टीका कार्यालयहरु पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् ।
प्रदर्शनकारीले विशेषगरी सरकारी कार्यालयलाई लक्षित गरेका छन् । घोराही उपमहानगरपालिका कार्यालय, नापी शाखा कार्यालय, जिल्ला अदालत कार्यालय, घोराहीका १५, १० र ११ नम्बर वडाका कार्यालय, प्रहरी बिट, जिल्ला ट्राफिक कार्यालयलगायत दर्जनौं सरकारी कार्यालयमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका कार्यालयमा समेत जेनिज आन्दोलनकारीले तोडफोडसँगै आगजनी गरेका छन् । प्रारम्भिक अनुमान अनुसार यी संरचनामा ठूलो मात्रामा कागजात, फर्निचर र उपकरण जलेर नष्ट भएको बताइन्छ ।
सरकारी कार्यालयसँगै राजनीतिक दलका कार्यालय पनि जेनिज आन्दोलनको निशानामा परेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयमा आगजनी र तोडफोड भएका छन् । यति मात्र नभई नेताहरुका निजी घरसमेत आन्दोलनकारीको आक्रमणमा परेका छन् । एमाले महासचिव शंकर पोख्रेलको तुलसीपुरस्थित बिजौरीमा रहेको घरमा तोडफोड र आगजनी भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरी, नेता राजु खनाल, घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीसहित दर्जनौं नेताहरुका घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
दाङमा कति क्षति भएको हो भन्ने यकिन विवरण आउन बाँकी छ । तर प्रारम्भिक तथ्यांकअनुसार करोडौं मूल्यबराबरको सम्पत्ति नष्ट भएको प्रहरीको भनाइ छ । हाल स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीयवासी भने प्रदर्शनकारीद्वारा गरिएको यस्तो अराजक क्रियाकलापले सामान्य जनजीवन प्रभावित भएको बताएका छन् । उनीहरुले राजनीतिक र सामाजिक समस्या शान्तिपूर्ण तरिकाले समाधान गर्न आग्रह गर्दै हिंसात्मक आन्दोलन रोक्न सरकार र आन्दोलनकारी दुबै पक्षलाई सचेत रहन सुझाव दिएका छन् ।