अविनाश चौधरी
धनगढी, भदौ २४ गते। जेनजी समर्थकले सुदूरपश्चिम प्रदेश सभा भवनसहित विभिन्न मन्त्रालय, सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्।
दोस्रो दिन धनगढीमा प्रर्दशन गर्दै जेनजी र समर्थकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय जलाएका छन्।
प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ढुङ्गामुढा गरेका छन्। त्यस्तै, धनगढी उपमहानगरपालिका-४ मा रहेको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा तोडफोड र आगजनी गरेका छन्। पछिल्लो समय सो घरमा मर्मतको कार्य चलिरहेको थियो।
प्रदर्शनकारीले थुप्रै सरकारी सवारी साधन पनि जलाएका छन्। पहिलो दिन धनगढीमा शान्तिपूर्वक विरोध प्रदर्शन गरेका जेनजीले काठमाडौंसहित मुलुकको अन्य ठाउँमा आन्दोलनकारीको ज्यान गएपछि दोस्रो दिन तोडफोड र आगजनीमा उत्रेका हुन्।
आन्दोलनकारीले धनगढी उपमहानगरपालिका-१ मा रहेको नेपाली कांग्रेस, नेकपा (एमाले) को पार्टी कार्यालयमा आगजनी गरेका छन्। आन्दोलनकारीले थुप्रै ठाउँमा तोडफोड र आगजनी गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।