• १३ असोज २०८१, आइतबार

आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत् सेवा पुग्ने : ऊर्जामन्त्री भुसाल

blog

काठमाडौं, असार १५ गते । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत् सेवा पुग्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताउनुभयो ।

आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत् सेवा पाएको उहाँको भनाइ छ । उहाँले सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपियाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको जानकारी दिनुभयो ।

‘‘आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिनेछ । मैले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु । देशभरका झन्डै ५२ लाख ग्राहकमध्ये करिब २६ लाख ग्राहकले यो सुविधा पाएका छन् ।,’’ उहाँले भन्नुभयो ।

आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब ७०० देखि १००० मेघावाट विद्युत् नेपालको विद्युत् प्रणालीमा थपिँदै जाने जानकारी उहाँले दिनुभयो । यसरी विद्युत् थपिँदा आगामी २ वर्षमा सुख्खा याममा समेत नेपालको विद्युतले नै आन्तरिक माग  धान्ने उहाँले औंल्याउनुभयो ।