• १६ असार २०८१, आइतबार

नेपालगञ्जमा अत्याधुनिक वाल पार्क बन्दै

blog

नेपालगञ्जमा निर्माण गरिएको वाल पार्क । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असार १३ गते । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीमा आकर्षक वाल पार्क निर्माण भई सञ्चालनमा आउनेभएको छ । सुन्दर वाटरपार्क र धम्बोझी माविसँगै जोडिएको यो पार्क सञ्चालनमा आएपछि नेपालगञ्जमा अर्को पर्यटकीय क्षेत्र थपिनेछ । 

दुई वर्षअघि निर्माण सुरु भएको वाल पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष प्रमोद रिजालले बताउनुभयो । नेपाल सरकार संघीय आयोजना कार्यान्वयन ईकाई मार्फत करिब १४ कठ्ठा जग्गामा वाल उद्यान निर्माण गरिएको हो । वाटर पार्कसँगै जोडिएको पश्चिम उत्तरतर्फ  पार्क निर्माण गरिएको छ ।

“वाटरपार्कसँगै वाल पार्क जोडिएका कारण मनोरञ्जन क्षेत्रमा थप आकर्षण थपिएको छ”, वडा अध्यक्ष रिजालले भन्नुभयो, “यसबाट धम्बोझीमा मात्रै नभएर वाटर पार्क घुम्न आउने बालबालिकाले पनि खेल्न र मनोरञ्जन गर्न पाउनेछन् ।” वाल पार्क क्रमशः रोमाञ्चक बन्दैजाने वडा कार्यालयले जनाएको छ ।

ईकाईका सूचना अधिकारी गोविन्दप्रसाद सुवेदीकाअनुसार कारकादौंदेखि नन्दनी मिल जोड्ने बाईपास सडक र भेरी प्राविधिक शिक्षालय पश्चिमको सडक कालोपत्रेसँगै वाल उद्यान निर्माणको पनि एकसाथ टेण्डर भएको हो । १६ करोड २४ हजार रुपियाँको लागतमा टेण्डर स्वीकृत भएको ईकाईले जनाएको छ ।

सुन्दर र रमणीय वाटर पार्कसँगै जोडिएका कारण यसबाट नेपालगञ्जको समग्र पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीय किरण ढकालले बताउनुभयो । “वाटरपार्क र वाल उद्यान पूर्णरुपमा सञ्चालनमा आएपछि नेपालगञ्जमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन  सहयोग मिल्नेछ । स्थानीयबासी ढकालले भन्नुभयो– “नेपालगञ्जजस्ता ठूला शहरमा यसखालका पार्कहरु बढाउन आवश्यक छ ।” 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वागेश्वरी मन्दिरको पूर्वतर्फ समेत अण्डरग्राउण्ड पार्किङसहित वालउद्यान निर्माण हुने बताउनुभयो ।