• १५ चैत २०८०, बिहिबार

चार वर्षमा अठार सय मिटर सडक निर्माण पूरा भएन

blog

साढे चार वर्षमा निर्माण पूरा नभएको खजुराको सडक । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार १३ गते । अठारसय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ?  ६ महिना, एक वर्ष वा दुई वर्ष ? बाँकेमा चार वर्ष लगाएर १८ सय मिटर सडक निर्माणको काम पनि पूरा हुनसकेको छैन । 

बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर फोरलेन सडक निमार्णको काम साढे चार वर्षदेखि अधुरो छ ।  फोरलेन सडक निर्माणको काम गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाख रुपियाँमा २०७४ वैशाखमा ठेक्का पाएको थियो । सडक निमार्णका लागि उक्त बजेट सङ्घीय सरकारले दिएको थियो । 

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएको थियो । सो अवधिमा काम नसकिएपछि कोरोना महामारीको कारण देखाउँदै सरकारबाट छ महिनाका लागि म्याद थपिएको थियो । तर थपिएको म्यादमा पनि काम नसकिएपछि फेरि ६ महिनाका लागि म्याद थपिएको छ । थपिएको समयभित्र पनि काम पूरा हुन नसकेको स्थानीय सतीश निरौलाले बताउनुभयो । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमै काम नसकिएको निर्माण कम्पनीले जनाएको छ । यसअघि केही महिना पहिले धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीयले नेपालगञ्ज–गुलरिया सडक अवरुद्ध पारेपछि गिट्टी हालेर सरफेस ट्रेसिङ गरिएको थियो । तैपनि दुई सातामै पीच उप्किएको थियो ।

सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् । फोरलेन सडककका सरफेस ट्रेसिङ उक्एिपछि स्थानीयले गुणस्तरमाथि शङ्का गर्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएका छन् । 

सडकबारे खजुरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकले चासो देखाउनुभएको छ । अहिलेसम्म के कारणले सो सडकको निर्माण पूरा हुन नसकेको हो सोबारे जानकारी लिएर निर्माण पूरा गराउन पहल लिने बताउनुभयो ।