• २४ भदौ २०८२, मङ्गलबार

ढिलासुस्तीविरुद्ध जनप्रतिनिधिको प्रदर्शन

blog

निर्माण कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्दै जनप्रतिधि र स्थानीय ।

धनगढी समाचारदाता 

धनगढी, भदौ २४ गते ।  निर्माण कम्पनीहरूले सडक निर्माणमा गरेको ढिलासुस्तीविरुद्ध कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीयले सोमबार प्रदर्शन गरेका छन् । 

यसअघि दबाबस्वरूप सडकबाटै वडा कार्यालयको सेवा प्रदान गरेका जनप्रतिनिधिले विरोधको स्वरूप फेर्दै अत्तरिया चोकमा प्रदर्शन गरेका हुन । वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिले आइतबार पत्रकार सम्मेलन गरेर अत्तरिया चोकमा चक्काजाम गर्ने घोषणा गरेका थिए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसहित ठेकेदारले बिहानै ओलानी पुगेर निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता जनाएपछि भने जनप्रतिनिधि र सङ्घर्ष समितिले विरोध मात्रै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनपछि आयोजित कोणसभामा नगरप्रमुख वीरेन्द्र भट्टले चौकीडाँडा–फल्टुडे सडक ठेक्का भएको छ वर्षसम्म नबनेपछि ठेकेदारलाई दबाब दिन सडकमा उत्रिनु परेको बताउनुभयो । उहाँले समयमा काम सक्न स्थानीय सरकारले पटक पटक आग्रह गरे पनि अटेर गरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको उल्लेख गर्नुभयो । नगर प्रमुख भट्टले भन्नुभयो, “ठेकेदारले मङ्सिरभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् । अब एक दिन पनि काम रोके पुनः आन्दोलन गर्छौं ।” निर्माण कम्पनी तेडी निर्माण सेवा र एडभेन्चर–थेगिम–सनलाइट जेभीले सडक निर्माणमा चरम लापर्बाही गरेको जनप्रतिनिधिको भनाइ छ । 

चौकीडाँडा–फल्टुडे जोड्ने यो सडकको सेतोपुलदेखि वडा नम्बर १० को कार्यालयसम्मको खण्डमा २.२ किलोमिटर सडक निर्माणको ठेक्का एडभेन्चर–थेगिम–सनलाइट जेभीले पाएको छ । २०७७ भदौ ७ मा यो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । २०७८ साल माघ १७ सम्म ठेक्का समायवधि थियो । 

यसै गरी वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेसालसम्म तीन किलोमिटर सडक निर्माणका लागि २०७९ चैत १८ मा तेडी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । १८ महिनामा निर्माण सकिनुपर्ने यो खण्डको आधा पनि काम भएको छैन । एडभेन्चर–थेगिमले भने ५० प्रतिशत काम गरेको वडा नम्बर १२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताउनुभयो । उहाँले चौकीडाँडा–फल्टुडे सडककै अर्को खण्डमा पछि ठेक्का भएको सडक दुई वर्षअगाडि नै बनिसकेको उल्लेख गर्नुभयो ।