काठमाडौँ, भदौ २४ गते । सामाजिक सञ्जाल ‘वी टक’ ले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ, सुस्मिता तामाङ र करण सोनारसँग औपचारिक सम्झौता गरेको छ । सम्झौता अनुसार यी डान्सरले ‘वी टक’ ले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्ने छन् । नोर्बु र सुस्मिताले अन्तर्राष्ट्रिय डान्स प्रतियोगितामा सहभागिता जनाउँदै विश्वव्यापी पहिचान बनाउनुभएको छ । करण सोनार करण डान्स स्टुडियोका सञ्चालक हुनुहुन्छ ।
‘वी टक’ को माउ कम्पनी सारांश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स समुदाय र कन्टेन्ट क्रिएटरलाई जोड्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो एपमार्फत क्रिएटरको सिर्जनालाई अनलाइन र भौतिक माध्यमबाट प्रस्तुत गर्ने छौँ । तत्काल भुक्तानीको व्यवस्थाले नयाँ सिर्जनालाई प्रोत्साहन गर्ने छ । नोर्बु, सुस्मिता र करण जस्ता कलाकारसँग जोडिएर हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास र विस्तार गर्ने हाम्रो योजना छ ।”
‘वी टक’ ले आयोजना गर्ने हिपहप डान्स प्रतियोगितामा प्रयोगकर्ताले सहभागिता जनाउन सक्ने छन् । सहभागीले आफ्नो हिपहप डान्स भिडियो ‘वी टक’ मा अपलोड गर्नुपर्ने छ । नोर्बु, सुस्मिता र करणले उत्कृष्ट भिडियो छनोट गर्नुहुने छ । ‘वी टक’ ले निर्माण गरेको भिडियोसँगै पुरस्कार राशि पनि घोषणा गरिने छ ।