• १५ वैशाख २०८१, शनिबार

बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँस संरक्षण हुँदै

blog

 निशा राई

धरान, असार १३ गते । नेपालमा कहीँकतै नपाइने टुप्पो विनाको बाँस धरानस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा छ । उक्त बाँसको प्रजाति सिमेन्टका संरचना निर्माण भएपछि नष्ट हुने अवस्थामा पुगेकाले यस्को संरक्षण गर्न थालिएको  छ । 

नेपालमै दुर्लभ मानिएको ऐतिहासिक महत्व बोकेको बाँस एक दशक यतासम्म  नयाँ पलुवा नपलाएपछि गत साल वनस्पति विज्ञसहित धरान उपमहानगरपालिकाका पूर्वप्रमुख तिलक राईको नेतृत्वमा स्थलगत अवलोकन गरिएको थियो । 

बाँसको संरक्षणको आवश्यक उपाय खोजी गर्ने अभियान अन्तर्गत केन्द्रीय प्रविधि क्याम्पसका वनस्पतिशास्त्रका प्राध्यापक सञ्जु पराजुलीसहितको टोलीले मन्दिरमा रहेको बाँसको स्थलगत अवलोकन गरी बाँसको अवस्थाको अवलोकनपछि प्राध्यापक पराजुलीले बाँसको झ्याङ वरिपरि सिमेन्टको पर्खाल लगाएकाले नयाँ बाँस पलाउन नसकेको जानकारी दिनुभएको थियो ।

विज्ञ पराजुलीले सिमेन्टको घेराले बाँसलाई अवरोध गरेको प्रतिवेदन दिएपछि उपमहानगरपालिकाले सो बाँसको संरक्षण कार्य थालेको हो । अहिले सिमेन्टको पर्खालसहित बनाइएको श्रद्धालु बस्ने ठाउँ हटाइएको छ । बाँसका लागि १० फिट ठाउँ छाडेर सिमेन्ट विना ढुङ्गाकोे टेवा उठाउने कार्य भइरहेको छ । तीन फिटसम्मको टेवा उठाएर बाँसलाई तारजाली पनि लगाउन थालिएको छ । 

पुजारी आलेका अनुसार बुढासुब्बा मन्दिर किम्बदन्तीसँगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताब्दी पुरानो मानिन्छ । तर एक दशक यता बाँसमा नयाँ पालुवा  नपलाएकाले झ्याङको बीच भाग खाली हुँदै आएको छ । सोही अवस्थामा रहे बाँस विस्तारै नष्ट हुने सरोकारवालाहरूले जनाएका थिए ।

हरियो बाँसका बोटहरूमा युवायुवतीले प्रेमको चिनो स्वरूप नाम खोपेर लेख्ने प्रचलन बढेको थियो । त्यसले पनि बाँसको वृद्धिमा असर पु¥याएको अनुमान गरी बाँस खोप्न प्रतिबन्ध लगाई धागो बान्ने प्रचलन  छ जसले गर्दा श्रद्धालु भक्तजनहरुको मनोकामना पूरा हुने विश्वास छ ।  

बुढासुब्बाको बाँस विजयपुरको इतिहाससँगै जोडिएको पाइन्छ । त्यस आधारमा यहाँको बाँसको प्रजाति तीन शताब्दी पुरानो मानिएको छ । पृथ्वीनारायण शाहको एकीकरण अभियान वि.सं. १८३० तत्कालीन चैनपुर हुँदै विजयपुरतिर आएको अनुसन्धानकर्ता अर्जुनबाबु माबुहाङले उल्लेख गर्नुभएको छ । 

बुढासुब्बाको बाँसमा टुप्पो नहुनुको कारण ऐतिहासिक कालमा लिम्बु दाजुबहिनी शिकार खेल्दै विजयपुर आइपुगेपछि अलप भए र शिकारीको धनुषवाण पलाएकाले बाँसको टुप्पो नभएको हो भन्ने किम्बदन्ती पनि छ । बुढासुब्बामा दाजुको मुख्य र बहिनीको सुब्बेनी मन्दिर छ ।