सिँजा समाचारदाता
सिँजा (जुम्ला), भदौ २४ गते । जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँका महिला पछिल्लो समयमा तरकारी उत्पादनमा व्यस्त छन् । पाँच वर्षअघि तरकारी खेतीमा कुनै रुचि नभएका यहाँका महिला प्राविधिक ज्ञान लिएपछि यो खेतीमा रमाएका हुन् ।
सुनदुस्की महिला कृषक समूहका २३ जना महिला मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौँ आम्दानी लिएका छन् । समूहका सदस्य शोभा रावतका अनुसार आफूहरू तरकारी खेतीबाट स्वरोजगार बन्नुका साथै राम्रो आम्दानी पनि प्राप्त भएको छ ।
समूहका महिलाले उत्पादन गरेको गोलभेँडा पालिकाको रारासेरी बजार, नाग्म र जुम्ला सदरमुकाम खलङ्गा बजारसम्म पुग्ने गरेको छ । अहिले गाउँमै गोलभेँडाको प्रतिकेजी ४० रुपियाँमै बिक्री हुने गरेको छ । खनजोतलगायतमा प्रयोग हुने हातेट्याक्टर पाएपछि काम गर्न सहज भएको समूहका सदस्य रावतको भनाइ छ ।
जलवायुमैत्री कृषि प्रविधिबाट गँड्यौला मल, गर्मी वास, छापो विधि, झोल मल, प्लास्टिक हाउस, पानीपोखरी, कम्पोस्ट मल र बायोचारको प्रयोग गरेर तरकारी खेतीबारे परियोजनाले यहाँका कृषि समूहलाई तालिम दिएपछि व्यावसायिक रूपमा तरकारी खेती गर्न थप टेवा पुगेको तिला–८ का कौशाला रावतको भनाइ छ । यसअघि अधिकांश महिला घरखर्च चलाउन ज्यालादारी गर्थे । परम्परागत रूपमा आफूलाई खानका लागि खेती गर्ने यी महिलालाई किर्डाकको परियोजनाले प्रोत्साहन गरेपछि महिलाहरू व्यावसायिक बनेका हुन् ।
महिलाले सागसब्जी खेती, गँड्यौला मल बिक्री गरेर बर्सेनि एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । समूहमा बचत गर्ने, बचत गरेर उठेको रकम सदस्यलाई कृषि क्षेत्रमै खर्च गर्ने स्थानीय महिला किसानको भनाइ छ । परियोजनाबाट स्थानीय सरकारको काम, कर्तव्य, योजना छनोट, टोल भेला न्यायिक समितिका काम, कर्तव्यलगायतका विषयमा सिकेका कुरालाई व्यवहारमा उतारेको तिला गाउँपालिका–८ का स्थानीय कमला बस्नेतले जानकारी दिनुभयो ।