• २४ भदौ २०८२, मङ्गलबार

गृहमन्त्री लेखकद्वारा राजीनामा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २४ गते । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई ठुलो सङ्ख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ । गृहमन्त्री लेखकले घटना अनपेक्षित र दुःखद रहेको भन्दै पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । घटनाबारे नेपाली कांग्रेसका नेताले गृहमन्त्री लेखकलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सुझाव दिएका थिए । सोमबारको घटनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाउनुभएको थियो । 

गृहमन्त्री लेखकसमेत सहभागी रहेको उक्त बैठकमा लेखकले घटनाक्रमबारे बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वगृहमन्त्री तथा पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले सर्वसाधारणको मृत्यु तथा घाइतेप्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्री लेखकलाई सुझाव दिनुभएको थियो । बैठकपछि मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामापत्र बुझाउनुभएको हो ।