• १४ वैशाख २०८१, शुक्रबार

हैजा नियन्त्रण गर्न सरकारकाे छ यस्ताे तयारी

blog

काठमाडौं, असार १३ गते । काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको संख्या १२ पुगेको छ । काठमाडौं उपत्यकामा हैजा देखिएसँगै ललितपुर महानगरपालिकाले हैजा फैलिन नदिन पानीपुरी विक्री वितरणमा रोक लगाएको छ । जिल्ला जनस्वास्थ्य काठमाडौँले हैजा देखिएपछि हैजा रोकथाम तथा नियन्त्रणका लागि छानविन समिति गठन गरेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा छानविन टोलीमा प्रयोगशालाका प्रतिनिधि, जनस्वास्थ्यकर्मी, महानगरपालिकाको स्वास्थ्यकर्मीलगायतका सदस्यहरु रहेका छन् ।

समितिले हैजा संक्रमण पुष्टि भएको ठाउँमा गएर के कारणले हैजा फैलियो भनेर अनुगमन गर्ने, पानीको नमूना लिएर परीक्षण गर्न दिने र हैजा फैलिएको ठाउँमा गएर जनचेतना फैलाउने काम गरिरहेको अधिकारीले बताउनुभयो ।

समितिले हैजा एउटा निकायले मात्र नियन्त्रण गर्न नसक्ने भएकाले काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखकाे पहलमा बहुक्षेत्रीय बैठक बसी उपत्यकामा उपभोग गर्ने खानेपानी, खाद्यान्नको गुणस्तर जाँच गर्ने काम सुरु गर्ने निर्णय गरेको अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एउटा निकायले मात्रै हैजा नियन्त्रण गर्न नसक्ने भएकाले उपत्यकाका तीनै वटा स्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय, नेपाल खानेपानी संस्थान, खाद्य तथा गुण नियन्त्रण विभाग, खानेपानी तथा सरसफाइ अभियान, काठमाडौँ महानगरपालिका, उपभोक्ता संघको संयुक्त बैठकले हैजा नियन्त्रणमा सबैले आ–आफ्ना क्षेत्रबाट काम अगाडि बढाउने निर्णय भएको छ ।”

साथै, हैजा फैलिएका महानगरपालिका, र नगरपालिकाले हैजासम्बन्धी जनचेतना फैलाउने जिम्मेवारी दिएको र काम अगाडि बढाएको अधिकारीले बताउनुभयो ।

१२ जनामा हैजा पुष्टि

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासकाअनुसार काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको संख्या १२ पुगेको हो । बागबजारमा, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, नैकाप, बल्खु, बालाजु र थानकोटका रहेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा एक जना र निजामती कर्मचारी अस्पतालमा दुई जना हैजा संक्रमित उपचाररत रहेका छन् ।

निर्देशक डा. दासकाअनुसार काठमाडौंमा थप एक जना हैजाको आशंकामा अस्पतालमा भर्ना गरिएको छ । उहाँको थप परीक्षणको लागि प्रयोगशालामा पठाइएको छ । हैजा फैलिएका ठाउँको पानीको नमूना लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षणमा दिएको डा. दासले बताउनुभयो ।

उहाँकाअनुसार डिल्लीबजार, बागबजार र बुढानिलकण्ठको ट्युबेल र धाराकाे पानी परीक्षण गर्दा दिसामा पाइने कोलिफर्म र ‘इकोलाइ’ नामक जीवाणु भेटिएको छ । अन्य स्थानको पानीको नमूना परीक्षणको लागि पठाइएकाले त्यसको नतिजा आउन बाँकी छ ।

पानी उमालेर वा क्लोरिनको प्रयोग गरी पिउन सुझाव

बर्खायाम सुरुभएदेखि काठमाडौंमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । उपत्यकामा थुप्रिएका फोहरका कारण हैजा काठमाडौं उपत्यकामा हैजा भित्रभित्रै फैलिएको चिकित्सकले अनुमान गरेका छन् । हैजा लागेको मानिसको दिसामा कीटाणु देखिन्छन् ।

स्वास्थ्य लापरवाहीले यस्ता कीटाणु पानी र खानाको माध्यमबाट अन्य मानिसको पेटमा जाने गर्छ । भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण लागेपछि झाडापखाला लाग्ने चिकित्सक बताउँछन् । निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् ।

हैजा लागेपछि तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षणसमेत देखिन सक्छन् ।

सरुवा रोग विशेषत्र डा. शेरबहादुर पुनकाअनुसार झन्डै १० सङ्क्रमित मध्ये एक जनामा कडा खालको हैजा देखिने गर्छ । कडा हैजा नदेखिएका सङ्क्रमितले कम्तीमा १० दिनसम्म दिसामार्फत् हैजाको जीवाणु निक्लने र लक्षणविहीन सङ्क्रमितले पनि हैजा फैलाउन सक्ने डा. पुन बताउनुहुन्छ ।

तसर्थ, दिसापिसाब गरिसकेपछि राम्राेसँग हातखुट्टा धुन डा. पुनको सुझाव छ । सकेसम्म घर बाहिर खाना र बासी सडेगलेका खानेकुरा नखाने, घरमा पकाएको साजी खानेकुरा खाने, पानी उमालेर वा क्लोरिनको प्रयोग गरी शुद्ध बनाई पानी पिउन डा. दासको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।