• २२ भदौ २०८२, आइतबार

चिडिमार बालिकालाई पोशाक सहयोग

blog

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका– १२ का चिडिमार समुदायका बालबालिकालाई पोशाक सहयोग गरिँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, भदौं २२ गते ।
नेपालगञ्जमा लोपोन्मुख तथा अल्पसङ्ख्यक जातिको रुपमा रहेका चिडिमार समुदायका बालिकालाई पोशाक सहयोग गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १२ मा रहेको बागेश्वरी आधारभूत विद्यालय र गणेशपुरचोकमा चिडिमार समुदायका ८० जना बालिकाहरुलाई पोशाक सहयोग हस्तान्तरण गरिएको हो ।

मोहम्मद डेको अवसर पारी अल्पसङ्ख्यक समुदायका ससाना छात्राहरुलाई सहयोग गरिएको मरियम फाउण्डेशन काठमाडौँका अध्यक्ष समीर अन्सारीले जानकारी दिनुभयो ।

चिडिमार समाजका अध्यक्ष रामु चिडिमारले विपन्न समुदायका विद्यालय जाने उमेरका बालिकालाई गरिएको पोशाक सहयोगले उनीहरुलाई विद्यालय नियमित जाने वातावरण तयार हुने बताउनुभयो ।

अध्यक्ष चिडिमारले भन्नुभयो, “ससाना बालिकाहरुले नयाँ पोशाक पाएपछि उत्साहित भएका छन्, यसको प्रभाव कक्षाकोठामा पनि पर्ने देखिन्छ ।” मरियम फाउण्डेशनले नेपालगन्ज वडा नं. ४ स्थित लालीगुराँस फेन्सी वेयरको संयोजनमा छात्रा विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

मरियम फाउण्डेशन बाँकेका अध्यक्ष रुबिनी अन्सारीले उप–महानगरपालिकाका भए पनि चिडिमार समुदायको त्यसमा पनि बालिकाहरुको शैक्षिक अवस्था कमजोर भएकाले बालिकालाई सहयोग गरिएको जानकारी दिँदै आगामी दिनमा समेत आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो ।