भवानीदत्त भट्ट
कञ्चनपुर, भदौ २२ गते । निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित हुनुभएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न १५ औँ अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित हुनुभएको हो ।
अवस्थीले निकटतम प्रतिद्वन्द्वी तत्कालीन अध्यक्ष निरञ्जनप्रसाद भट्टलाई १७ मतान्तरले पराजित गर्दे अध्यक्षमा विजयी हुनुभएको निर्वाचन अधिकृत पदमराज भट्टले जानकारी दिनुभयो ।
भट्टले १३२ मत प्राप्त गर्दा अवस्थीले १४९ मतसहित निर्वाचित हुनुभएको निर्वाचन अधिकृत भट्टले बताउनुभयो ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा देवबहादुर चन्द, उपाध्यक्षमा यज्ञराज बैज, महासचिव पदमा देवीदत्त भट्ट, सह–कोषाध्यक्षमा हेम महरा विजयी हुनुभएको छ । यसअघि सङ्घको सचिव र कोषाध्यक्षमा भने वृजकिशोर चन्द र तेजबहादुर चन्द निर्विरोध चयन हुनुभएको थियो ।
यसैगरी सङ्घको सदस्यतर्फ गणेश सुवेदी, चन्द्रसिंह कार्की, दीपक कार्की, नवीन चन्द, मनिराज रेग्मी, महेश जोशी र सन्तोष खत्री विजयी हुनुभएको निर्वाचन अधिकृत भट्टले बताउनुभयो । निर्माण व्यवसायी सङ्घ कञ्चनपुरमा २९२ मतदाता रहेकोमा शनिवार भएको निर्वाचनमा २८१ मत खसेको थियो ।