डा. प्रवीण श्रेष्ठ
विज्ञान/प्रविधिको यस समयमा समाजमा तीव्र प्रतिस्पर्धा छ । साथै अहिलेको विश्व युवाको संसार हो । आधुनिकतामा रमाउने तथा प्रविधिको अधिकतम ज्ञान राखी त्यसको प्रयोग गर्ने र प्रतिस्पर्धामा अगाडि बढ्दै जाने युवा नै हुन् । युवावर्ग कुनै कारणले थला परे भने सिङ्गो समाज नै थला पर्दछ । तसर्थ स्वस्थ र सुरक्षित हुनु आजको आवश्यकता मात्रै होइन एक चुनौती पनि भएको छ ।
बिहान उठेदेखि बेलुका नसुतेसम्म आफ्नो दैनिक कार्य तथा क्रियाकलापमा निरन्तर लागिरहँदा युवामा केही शारीरिक समस्या आउन सक्छन् । त्यस्ता विभिन्न शारीरिक समस्यामध्ये नशा अर्थात् स्नायुसम्बन्धी समस्या पनि हुन्छन् ।
सबैभन्दा पहिला व्यस्त जीवनको कुरा गरौँ । व्यस्त जीवनमा धेरै धपेडी भएको छ । यस्तो जीवनमा शारीरिक र मानसिक धपेडी धेरै र शारीरिक व्यायाम कम हुन्छ । शरीर स्वस्थ रहनका लागि व्यायाम अति आवश्यक हुन्छ र दैनिक शारीरिक क्रियाकलापले मात्रै व्यायामको पूर्ति गर्न सक्दैन । कतिपयले दैनिक दौडधूपलाई पनि एक प्रकारको व्यायाम हो भन्ने ठान्दछन् ।
यो केही हदसम्म ठीकै भए पनि पूरै सही भने होइन । किनभने व्यायाम गर्न या स्वस्थ हुनका लागि शारीरिक र मानसिक दुवैको सन्तुलन चाहिन्छ । शारीरिक र मानसिक थकानले नशाको कमजोरी उत्पन्न गरिदिन सक्छ । त्यस्तो समस्यालाई स्ट्रेस डिसअर्डर (stress disorder) भनिन्छ । तसर्थ दैनिक व्यस्त जीवनबीच पनि शारीरिक व्यायाम गर्नु आजको मूलभूत आवश्यकता हो ।
अचेल युवाले अफिसमा बसेर या टेबुल मेचमा बसेर गर्ने काम धेरै देखिन्छ । बैङ्कमा काम गर्ने, घरमा कम्प्युटरमा काम गर्ने, प्रशासनिक काम गर्ने आदिमा दैनिक घण्टौँ टेबुल मेचमा बस्नुपर्ने हुन्छ । यस्ता कामलाई टेबुल वर्क अथवा सिटिङ या सेडेन्टरी काम (Sedentary Job) भनिन्छ ।
यस्तो काम गर्नेका लागि आफ्नो पेसा नै त्यही हुने भएको हुनाले त्यसको विकल्पमा अन्य काम गर्ने सम्भावना कम हुन्छ । यसरी लामो समय बस्दा शारीरिक र मानसिक समस्या आउन सक्ने सम्भावना ज्यादा हुन्छ, यदि सही तरिकाले बसिएन भने ।
बसेर गर्ने काम हेर्दा सजिलो र राम्रो देखिए पनि यसका केही बेफाइदा हुन्छन् । लामो समयसम्म एकै शारीरिक आसनमा बस्दा मांशपेसी, हड्डी तथा नशाको समस्या उत्पन्न हुन सक्छ । सबैभन्दा सामान्य तर अत्यधिक देखिने समस्या भनेको शारीरिक तौल वृद्धि हुनु या मोटाउनु हो । लामो समयसम्म बसिरहँदा शारीरिक गतिविधि धेरै नहुने कारणले शरीरमा क्यालोरी जम्मा हुँदै जान्छ र तौल बढ्न थाल्छ ।
तौल बढेर शरीर भद्दा देखिने मात्रै होइन अरू थुप्रै रोग उत्पन्न गराउनुका साथै अन्य रोग पनि लागेको अवस्थामा आगोमा घ्यू हालेसरह पनि काम गर्दछ । साथै मधुमेह, उच्च रक्तचाप, अधिक कोलेस्टेरोल आदि समस्या भएको अवस्थामा मोटोपनले झनै जटिलता उत्पन्न गर्दछ । त्यस्तो अवस्थालाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । तौल ज्यादा भएमा ढाड खिइने र ढाडको नशा च्यापिने, घुँडा खिइने, हड्डी कमलो भई शरीर दुख्ने आदि समस्या देखा पर्न सक्छ ।
एकै ठाउँमा लामो समय बसिरहँदा मेरुदण्ड र यसको नशामा पर्ने असरको बारेमा केही चर्चा गरौँ । कुर्सीमा बस्दा हाम्रो शरीरको भार ढाड या मेरुदण्डले बोक्छ भने उभिँदा खुट्टाले बोक्छ । तसर्थ बसेको अवस्थामा ढाडमा सबैभन्दा धेरै असर पर्दछ । केहीबेर बस्दा ढाडमा खासै ठूलो असर पर्दैन किनभने ढाड एक निकै लचकदार अङ्ग हो र यसै कारण ढाडले शरीरको विभिन्न आसनमा शारीरिक भार सन्तुलन गर्न सक्छ तर लामो समयसम्म बसिरहँदा, त्यो पनि हरेक दिन त्यसरी नै बस्दा ढाड क्रमशः खिइँदै जाने र नशा च्यापिने सम्भावना बढ्छ । त्यति मात्रै नभई ढाडका मांशपेशी पनि कडा हुन गई ढाडमा दीर्घकालीन दुखाई समस्या उत्पन्न हुने गर्दछ ।
लामो समय बसेर गर्ने कामले ढाड मात्रै होइन गर्धन र गर्धनको नशाको पनि समस्या गराउँछ । सिटिङ जब गर्ने मानिसले प्रायः निहुरेर काम गर्नुपर्ने हुन्छ । निहुरेर काम गर्दा गर्धन र गर्धनको नशामा असर परी नशा च्यापिने सम्भावना बढ्छ । त्यसो भएमा गर्धन दुख्ने, पाखुरा र कुम दुख्ने, हात निदाउने आदि समस्या देखिन्छ ।
यसरी धेरैबेर एकोहोरो बसेर, निहुरेर काम गरेमा ढाड, गर्धन आदि चाँडै खिइने सम्भावना हुन्छ । जसलाई स्पाइनल डिजेनेरेसन (क्उष्लब िम्भनभलभचबतष्यल) भनिन्छ । यस्तो डिजेनेरेसन धेरै भएमा नशा च्यापिने सम्भावना पनि धेरै हुन्छ ।
यसरी सिटिङ जबले गर्दा हुन सक्ने शारीरिक समस्याको समाधान पनि पक्कै छ । लामो समय बसेर गर्ने काम गर्दा एकोहोरो घण्टौँसम्म नबसी आधा या एक घण्टामा एक पटक पाँच–दस मिनेटका लागि उठ्ने र शरीर हल्लाउने, केहीबेर हिँडडुल गर्ने तथा गर्धन टाउको चलाउने, चिल्लो खाना बढी नखाने र खानाको मात्रा घटाउने, दैनिक कम्तीमा एक घण्टा व्यायाम गर्ने आदि अभ्यास गरेमा शरीरलाई धेरै फाइदा पुग्छ ।
त्यस्तै राति सुत्ने बेला अग्लो सिरानी नराखी गर्धनमा सानो तकिया (नेक पिलो) राखेर सुत्ने गरेमा अझै फाइदा पुग्छ । छोटकरीमा भन्दा थोरै बस्ने र धेरै चलिरहने काम शरीरका लागि राम्रो हुन्छ ।
यी समस्याको समाधान र रोकथामका लागि नियमित शारीरिक व्यायाम आवश्यक छ । सम्भव भए बिहान अलि चाँडै उठेर आकाशमुनि बिहानीको स्वच्छ हावा खाँदै गरेको व्यायाम उत्तम हुन्छ । बिहान हल्का दौड्नु निकै राम्रो मानिन्छ । बिहानीको शान्त वातावरणमा दौड्दा मानसिक एकाग्रता पनि बढ्छ ।
यसरी हरेक बिहान करिब आधादेखि एक घण्टा व्यायाम गर्दा शारीरिक मात्रै होइन मानसिक स्थिरता र सन्तुलन पनि बनाउन सकिन्छ । यस्तो किसिमको व्यायाम नियमित गर्दा खाना पच्ने, दिसापिसाब राम्रो हुने, पसिना आएर छाला सफा हुने, मोटोपन घट्ने र राति राम्रो निद्रा लाग्ने गर्छ ।
त्यस्तै दैनिक व्यस्त र एकोहोरो काम तथा जीवनले शारीरिक र मानसिक तनाव पनि बढाइदिन्छ । तनाव आधुनिक जीवनको एक अभिन्न अङ्ग भइसकेको छ । तनाव ज्यादा हुने मानिसमा कार्यक्षमतामा कमी आई विभिन्न किसिमका शारीरिक समस्या पनि आउने गर्दछ ।
तनाव एक नदेखिने खालको समस्या हो । जुन विभिन्न जाँच पड्ताल गरेर पनि पत्ता लाग्दैन । तनावले गर्दा हुने शारीरिक समस्या पनि सजिलै पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले तनावले ग्रसित मानिसले खुलेर आफ्ना कुरा चिकित्सकसँग राख्ने गर्नुपर्छ ।
तनावले गर्दा शरीर भारी र सुस्त महसुस हुने, शरीरका अङ्गले राम्ररी काम नगरेको अनुभूति हुने, स्मरण शक्तिमा कमी आई दैनिक कार्यमा बाधा पुग्ने, बानी व्यवहारमा परिवर्तन आउने, रिस आउने, झर्किलो स्वभाव हुने, राति निद्रा नपर्ने, दिनभर टाउको भारी र दिमाग झुम्म भइराख्ने गर्दछ ।
त्यति मात्रै नभई तनावले केही दीर्घरोग जस्तै माइग्रेन, डिमेन्सिया आदि पनि गराउने र बढाउने गर्दछ । माइग्रेन भनेको मस्तिष्कको स्नायु कमजोर भएर टाउको दुख्ने, बान्ता हुने र रिङ्गटा लाग्ने एक समस्या हो । तनाव ज्यादा हुने मानिसमा माइग्रेन पनि ज्यादा हुन्छ । माइग्रेनलाई दुखाई कम गर्ने सामान्य औषधि खाएर ठीक पार्न सकिँदैन । यसका लागि माइग्रेनकै विशेष औषधि र उपचार आवश्यकता पर्दछ । अचेल युवामा माइग्रेन धेरै देखिने गरेको छ ।
डिमेन्सिया उमेर पुगेका अधबैसेँ मानिसमा देखिने गर्दछ । मस्तिष्कको स्नायु सुकेर र कमजोर भएर स्मरण शक्ति क्रमशः ह्रास हुँदै जाने समस्यालाई डिमेन्सिया भनिन्छ । कहिलेकाहीँ जवान मानिसलाई पनि डिमेन्सिया हुन सक्छ ।
तनावले पेटमा पनि समस्या आउँछ । जसलाई एसिडिटी अथवा चलनचल्तीको भाषामा ग्यास्ट्रिक भनिन्छ । एसिडिटी ठीक भएन भने अल्सर अर्थात् आन्द्रामा प्वाल पर्ने सम्भावना पनि हुन्छ । जसलाई स्ट्रेस अल्सर भनिन्छ । मानव शरीरमा कुनै किसिमको मानसिक भार (कतचभकक) भएमा त्यसले अचानक बनाउने अल्सरलाई स्ट्रेस अल्सर भनिन्छ । मानसिक तनावले प्रत्यक्ष रूपमा स्ट्रेस अल्सर नगराए पनि यसले एसिडिटी बढाएर स्ट्रेस अल्सर बन्न मद्दत गर्दछ ।
समग्रमा भन्नुपर्दा आधुनिक जीवन जत्तिको आरामदायी र रोमाञ्चक छ त्यत्तिकै कठिन र सङ्घर्षमय पनि छ । सङ्घर्षबिना आधुनिक जीवन सफल र आनन्ददायी हुन सक्दैन । त्यसका लागि शरीर र जीवन दुवैलाई सन्तुलित हिसाबले अगाडि बढाउनु अत्यावश्यक छ ।
नियमित व्यायाम र सन्तुलित खानपिनले मानिसलाई एक पूर्ण जीवन दिन सक्छ । व्यायामले शरीर मात्रै होइन मानसिक अवस्थालाई पनि स्थिर राख्दछ ।