• १७ साउन २०८२, शनिबार

७४ जिल्लामा २४ सयभन्दा बढीमा डेंगु पुष्टि

blog

काठमाडौँ, साउन १६ गते । पुस यता दुई  हजार चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई  हजार ४५१ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा ६९८ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, बागमतीमा ५२३, कोशीमा ४३६, लुम्बिनीमा ४०५, सुदूरपश्चिममा २९९, कर्णालीमा ५० र मधेशमा ४० जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो ।   

चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन्। त्यो बाहेक उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षण देखिन्छन् ।