• २७ वैशाख २०८१, बिहिबार

जोखिम क्षेत्र यकिनदेखि उद्धार तयारी

blog

रङ्गेली समाचारदाता

विराटनगर, असार १३ गते । सामान्य वर्षाकै कारण मोरङको केराबारी गाउँपालिका–१ का सातघरमा बाढीले क्षति पु-यायो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छ घरमा आंशिक र एक घरमा पूर्ण क्षति भएको छ । गत वर्ष कात्तिक १, २ र ३ गतेको वर्षापछि मोरङमा बाढी, डुबान तथा कटानले ६४ करोड रुपियाँ बराबरको क्षति पु-याएको तथ्याङ्क जिल्ला विपत् व्यवस्थापन समितिले गृह मन्त्रालयमा सिफारिस गरेको छ । क्षति बेहोर्ने नागरिकले अहिलेसम्म राहत भने पाएका छैनन् । प्रमुख जिल्ला अधिकारी दाहालले राहतका लागि गरिएको सिफारिसअनुसारको बजेट प्राप्त भइनसकेको जानकारी दिनुभयो । 

वर्षा सुरु भएसँगै मोरङमा विपत् जोखिमबाट नागरिकलाई सुरक्षा दिन प्रतिकार्यका काम समेत सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार प्रकोप स्तरीकरणसँगै सम्भावित जोखिम क्षेत्रमा सचेतनाको काम स्थानीय तहबाट भइरहेको छ । मोरङ जिल्लाभर दसवटा खोला तथा नदीले बर्सेनि क्षति पु-याउँदै आएको छ । जिल्लाका बुढी÷केशलिया, सिङ्घिया, लोहन्द्रा, चिसाङ, डाँस÷मरिया बक्राहा, रतुवा, मावा, बक्राहा, तेली, सुकुना, कयर खोलाले बर्सेनि क्षति गर्दै आएका छन् । 

मोरङमा बुढी÷केसलियाले सुन्दरहरैँचा नगरपालिका, बूढीगङ्गा गाउँपालिका, विराटनगर क्षेत्र प्रभावित गर्दछ । यसैगरी सिङ्घियाले बूढीगङ्गा, विराटनगर, ग्रामथान, कटहरी र जहदा, लोहन्द्राले बेलबारी, सुन्दरहरैँचा, ग्रामथान, कटहरी, जहदा, रङ्गेली, धनपालथान, चिसाङले लेटाङ, केराबारी, बेलबारी, कानेपोखरी र रङ्गेलीलाई क्षति गर्दै आएको छ । 

डाँस÷मरिया बक्राहाले लेटाङ, पथरिशनिश्चरे, कानेपोखरी, रङ्गेली, रतुवामाई, मावा खोलाले उर्लाबारी, रतुवामाई, सुनवर्षी, बक्राहाले उर्लाबारी र रतुवामाई, तेलीले लेटाङ र उर्लाबारी, सुकुना तथा कयरले बेलबारीलाई बर्सेनि डुबान, कटानसहित बाढीको प्रकोपमा पार्दै आएको छ । 

जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पार्ने कामका लागि जिल्ला विपत् व्यवस्थापन समितिले दोहोरिने क्षतिलाई रोक्न विशेष ध्यान दिइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । विपत् व्यवस्थापन समितिको बैठक बसेर प्रतिकार्यका कामका लागि विशेष योजना बनाउने, स्थानीय तहमार्फत विपत् व्यवस्थापन कोषमा बजेटको प्रबन्ध मिलाउने, जनशक्ति तथा सामग्री तयारी अवस्थामा राख्ने जस्ता निर्णय गरिएको छ । 

मोरङका दक्षिणी पालिकाका डुबान र कटानको जोखिममा र उत्तरी क्षेत्रका पालिकाहरू बाढी, कटान र पहिरोको जोखिममा रहेको यकिन गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी दाहालले सोमबारदेखि स्थानीय तहस्तरमा प्रतिकार्य पूर्वतयारीको काम सुरु गरिने भएको छ । 

जिल्लामा विपत्को स्थिति आए नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट दुई हजार पाँच सय जनशक्ति परिचालन हुनेछन् । त्यसबाहेक स्थानीय तहमा रहेको विपत् प्रतिकार्य टिमसमेत सहभागी हुनेछ । प्रमुख जिल्ला अधिकारी दाहालले जिल्लामा उद्धारका लागि तीनवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ ।

बाँकी उद्धारपछि व्यवस्थापन गर्ने स्थान छनोट, व्यवस्थापनका लागि आवश्यक सामग्री, उद्धारका लागि आवश्यक पर्ने सामग्री र उद्धारपछि उनीहरूलाई राहत व्यवस्थापन गर्ने विषयमा समेत सम्बन्धित क्षेत्रका सरोकारवाला निकायसँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । आवश्यक सामग्री उपलब्ध गराउन प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश विपत् व्यवस्थापन केन्द्रसँग माग गरिएको उहाँले जानकारी दिनुभयो ।  

गत वर्ष कात्तिकको वर्षा र त्यसले कटान गरिएको नदी तटीय क्षेत्रमा रोकथामका कामसमेत भइरहेको बताइएको छ । मोरङको रङ्गेली नगरपालिकाको १, २, ३ गत वर्ष चिसाङ्ग खोलाले गरेको कटानमा अहिले रोकथामको काम भइरहेको दाहालले बताउनुभयो । अहिले स्थानीय तहमा विपत् प्रतिकार्यको योजना बनाउने निर्देशन दिइएको छ । 

प्रदेशको राजधानी विराटनगर हरेक वर्षाको समयमा ढुबानको जोखिममा पर्दै आएको छ । विराटनगरमा केसलिया र सिङ्घिया खोलाको बाढीले बढी जोखिम निम्त्याउँदै आएको छ । विराटनगर १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ नम्बर वडा बढी जोखिम मानिन्छन् ।