• २२ भदौ २०८२, आइतबार

निर्माण कम्पनीको लापरबाही, दबाब दिन सडकबाटै सेवा

blog

निर्माण कम्पनीलाई दबाब दिन सडकबाट सेवा दिँदै वडा कार्यालय ।

धनगढी समाचारदाता 

धनगढी, भदौ २१ गते । निर्माण कम्पनीले सडक निर्माणमा ढिलासुस्ती गरेपछि कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडा कार्यालयले सडकबाटै सेवा दिन थालेका छन् । चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदारले लापरबाही गरिरहेको भन्दै दबाब दिन वडा कार्यालयले सडकबाट सेवा दिइरहेका हुन् । गोदावरी नगरपालिका–३, १०, ११ र १२ का वडा कार्यालय दुई दिनदेखि सडकमा सञ्चालन भइरहेका छन् । वडा नम्बर १० को चाख्लेखोला भन्ने स्थानमा चार वटै वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी सडकमा छन् । वडा कार्यालयले दिँदै आएको सम्पूर्ण सेवा सडकबाटै दिने काम भइरहेको छ । 

निर्माण कम्पनी तेडी निर्माण सेवा र एडभेन्चर–थेगिम–सनलाइट जेभीले सडक निर्माणमा चरम लापर्बाही गरेकाले आफूहरू सडकमा उत्रेर सडकबाटै सेवा दिन थालेको वडा नम्बर १० का वडा अध्यक्ष रवीन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षमै बन्नुपर्ने सडक छ वर्षसम्म नबन्दा यहाँका जनतालाई धेरै समस्या भइरहेको छ । सडक निर्माणका लागि हामीले पटक पटक ध्यानाकर्षण गराए पनि नटेरेपछि बाध्य भएर सडकमा उत्रिएका छौँ ।” चौकीडाँडा–फल्टुडे जोड्ने यो सडकको सेतोपुलदेखि वडा नम्बर १० को कार्यालयसम्मको खण्डमा २.२ किलोमिटर सडक निर्माणको ठेक्का एडभेन्चर–थेगिम–सनलाइट जेभीले पाएको छ । विसं २०७७ साल भदौ ७ गते यो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । २०७८ साल माघ १७ सम्म ठेक्का समयावधि थियो । यसै गरी वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेसालसम्म तीन किलोमिटर सडक निर्माणका लागि २०७९ चैत १८ मा तेडी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । १८ महिनामा निर्माण सकिनुपर्ने यो खण्डको आधा पनि काम भएको छैन । 

निर्माण कम्पनीले काम गरे जस्तो देखाउने गरे पनि चरम लापर्बाही गरिरहेको जनप्रतिनिधिको आरोप छ । सडक निर्माण कार्यमा लापर्बाही गरिरहेका दुवै निर्माण कम्पनीलाई कालो सूचीमा राखेर अर्को ठेक्का लगाउन उनीहरूले माग गरेका तर त्यस्तो नभएपछि सडक आन्दोलनमा उत्रेका हुन् । 

सडकमा वडा कार्यालय सञ्चालन गरेर पनि दबाब नपुगे आगामी दिन अत्तरिया चोकमा राजमार्ग बन्द गरेर आन्दोलन गर्ने वडाध्यक्ष शाहीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “पटक पटक आग्रह गर्दा पनि नटेरेपछि दुवै निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका थियौँ तर कारबाही नगरी म्याद थप्ने कार्य भएका छन् ।”

एडभेन्चर–थेगिमले छ वर्षमा करिब ५० प्रतिशत काम गरेको जनप्रतिनिधिको भनाइ छ । त्यस्तै तेडी निर्माण सेवाले नाली निर्माणको काम सिध्याएको जनाइएको छ । दुवै निर्माण कम्पनीले बाटैमा निर्माण सामग्री छरपस्ट राखेका छन् । पछि ठेक्का भएको चौकीडाँडा–फल्टुडे सडक अन्तर्गतकै बिचको तीन किलोमिटर खण्डमा कालोपत्रे सडक बनिसकेको छ । यो खण्डमा सडक निर्माणका लागि दुई वर्षअगाडि मात्रै ठेक्का सम्झौता भएको बताइएको छ । 

पछि ठेक्का लागेको सडक बनिसके पनि दुई निर्माण कम्पनीले छ वर्षमा छ किलोमिटर सडक बनाउन नसकेको वडा नम्बर १२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो पहिलो कार्यकालकै बेला सडकको ठेक्का भएको थियो । दोस्रो कार्यकालको तीन वर्ष बित्दा पनि यो सडक बनेन ।”

वडाध्यक्ष खड्काले जनताको माग अनुसार सङ्घर्ष समिति गठन गरेर आगामी आन्दोलनका थप कार्यक्रम समितिको निर्णय अनुसार अगाडि बढाइने उल्लेख गर्नुभयो । फल्टुडेसम्म वैकल्पिक राजमार्ग परिकल्पना गरिएको चौकीडाँडा–फल्टुडे सडक बनेमा करिब २२ किलोमिटर बाटो छोट्टिने जनाइएको छ । यो बाटोसँग गोदावरीका चार वटै वडा र चुरे गाउँपालिकाका चार वटा वडा जोडिने गरेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँले सडक नबन्दा बिरामीले धेरै सास्ती भोग्नु परिरहेको उल्ल्ेख गर्नुभयो । त्यस क्षेत्रमा सर्पदंश र प्राकृतिक प्रकोपको समस्या बढी छ ।