• २० जेठ २०८१, आइतबार

लागूऔषध ट्रान्जिटको जोखिममा नेपाल

blog

काठमाडौँ, असार १३ गते  । करिब पाँच केजी लागूऔषध हेरोइनसहित बौद्धबाट तान्जानियाका नागरिक अब्दुल्लाह अबुलिकी असार ३ गते पक्राउ परे । दक्षिण अफ्रिकाको जोहानसबर्गबाट दुबई हुँदै काठमाडौँ आएका अबुलिकीलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बौद्धस्थित एक होटलबाट चार केजी नौ सय ग्राम हेरोइनसहित नियन्त्रणमा लियो ।

अबुलिकीको साथमा रहेको हेरोइन लिन आएका भारतको हरियाणाका मुनिम सिंह, विक्रमजित सिंह र नेपाली सहयोगी पर्सा, वीरगञ्जका बिक्की रौनियारसमेत पक्राउ परे । गत जेठ २६, २९ र ३१ गते फरक–फरक विमानबाट नेपाल आएका सात दक्षिण अफ्रिकी महिलाबाट ब्युरोको टोलीले ५१ केजी हेरोइन बरामद ग¥यो । ‘अपरेसन ह्वाइट बस्ट’ नामक ब्युरोको विशेष अपरेसनका क्रममा बरामद उक्त हेरोइन नेपालमा अहिलेसम्मकै ठूलो परिणामको हो । अन्तर्राष्ट्रिय बजारमा यसको अवैध मूल्य एक अर्ब तीन करोड रुपियाँभन्दा बढी रहेको ब्युरोको दाबी छ । 

गत वैशाख ३ गते दक्षिण अफ्रिकाबाट काठमाडौँ आएकी जाम्बियाली युवतीबाट सात केजी र भदौ ५ गते अफ्रिकी नागरिकबाट दुई केजी ९६६ ग्राम हेरोइन बरामद भयो । यी प्रतिनिधि घटनामा बरामद हेरोइन भारततर्फ तस्करी हुने क्रममा लागूऔषध नियन्त्रण ब्युरोले बरामद गरेको जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पक्राउ परेका व्यक्तिको प्रारम्भिक बयानबाट बरामद हेरोइन भारतर्फ तस्करी हुने तयारीमा रहेको खुलेको बताउनुभयो । 

बढ्यो ओसारपसार

यी घटनाक्रम हेर्दा लागूऔषधका कारोबारीले नेपालको भूमिलाई सहज रूपमा प्रयोग गर्न खोजेको देखिन्छ । विमानस्थलको सुरक्षा अवस्था, लागूऔषध अनुसन्धानमा कमजोर जनशक्ति, लागूऔषध पत्ता लगाउन अपनाइने परम्परागत शैली तथा पक्राउ परिहाले दण्ड जरिवानासमेत कम रहेका कारण लागूऔषधका कारोबारी तथा भरियाले नेपाली भूमि प्रयोग गर्न थालेको देखिन्छ ।लागूऔषध नियन्त्रण ब्युरोको पछिल्लो पाँच वर्षको तथ्याङ्कले पनि नेपाल लागूऔषधको ट्रान्जिट बन्दै गएको देखिन्छ । नेपालमा भने सस्तो र सहज उपलब्धताका कारण औषधिजन्य ड्रग्स प्रयोगकर्ताको सङ्ख्या झन्डै तीन लाख रहेको बताइन्छ । 

नेपालमा पछिल्लो समय भित्रिएको ठूलो परिणामको लागूऔषध हेरोइन, अफिम, चरेस तथा कोकिन भारतलगायत तेस्रो मुलुकमा तस्करी हुने गरेको छ । योसँगै नेपालमा बढी मात्रामा प्रयोग हुने औषधिजन्य लागूऔषध (फर्मास्युटिकल ड्रग्स)को प्रयोग बढ्दै गएको छ । विभिन्न प्रकारका जटिल बिरामीका लागि प्रयोग हुने औषधि बुप्रेनोर्फिन, डाइजेपाम, नाइट्रोभेट, कोरेक्स डिलेक्स डीसी, एम्पेटामाइन, यावा तथा मेटाम्फिटा लागूऔषधका रूपमा दुरुपयोग हुने क्रम बढेको छ ।

विशेष गरी स्कुल तथा कलेज पढ्ने विद्यार्थी यसको कुलतमा फस्ने क्रम बढेको समेत अनुसन्धानबाट खुलेको छ । नेपालमा औषधिजन्य ड्रग्सका प्रयोगकर्ता तीन लाखको हाराहारीमा रहेको र प्रत्येक वर्ष पाँचदेखि १० प्रतिशत वृद्धि भएको विभिन्न अध्ययनले देखाएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल लागूऔषधका कारोबारीले नेपाललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्न थालेको बताउनुभयो । उहाँले विमानस्थलको कमजोर सुरक्षा तथा देशमा विद्यमान राजनीतिक अस्थिरताको फाइदा लागूऔषध कारोबारीले उठाउने गरेको बताउनुभयो । उहाँले हेरोइन, चरेस, अफिम, कोकिनजस्ता लागूऔषध महँगो हुने कारण नेपाल हुँदै दोस्रो मुलुक तस्करी हुने र औषधिजन्य ड्रग्स भारतबाट नेपालमा भित्रिने गरेको समेत जानकारी दिनुभयो । 

त्रिभुवन विमानस्थलमा आवश्यक जनशक्ति नहुने र अनुसन्धान टोलीसमेत छिटो–छिटो परिवर्तन गर्ने कारण सुरक्षा अवस्था कमजोर बनेको र त्यसको फाइदा तस्करले लिने गरेको पाइन्छ । नेपाल–भारत खुला सीमाका कारण लागूऔधको ओसारपसार सहज बन्ने गरेको घटनाक्रमबाट देखिएको छ ।