अयोध्या, भदौ २० गते । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र उहाँकी पत्नी ओम ताशी डोमासहितको भुटानी टोली शुक्रबार अयोध्या आइपुग्नु भएको छ । उत्तर प्रदेशका मन्त्री सूर्य प्रताप शाहीले विमानस्थलमा भुटानी टेलीलार्ई स्वागत गरेको जनाइएको छ ।
प्रधानमन्त्री छिरिङ तोब्गेले अयोध्यामा श्री राम लल्ला, हनुमानगढी र अन्य मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । अयोध्याको आध्यात्मिक भ्रमणमा तोब्गेले बिहारको प्राचीन शिक्षामा निहित ‘नालन्दा सस्कृति संरक्षण गर्नुपर्ने बताउँदै भुटानले यसको प्रसार र संरक्षणमा आफ्नो भूमिका खेल्ने आश्वासन दिनु भएको छ ।
स्वागत कार्यक्रममा बोल्दै तोब्गेले नालन्दा महावीरको परम्परालाई निरन्तरता दिइ भुटानलाई राजगिरमा मन्दिर निर्माण गर्ने अवसर दिएकोमा भारत सरकारलाई धन्यवाद दिनु भएको छ । उहाँले यो ऐतिहासिक सहर राजगिर भ्रमण गर्ने अवसर दिनु भएकोमा पनि धन्यवाद ज्ञापन गर्नु भएको छ ।
नालन्दा विगतको विश्वविद्यालय मात्र नभई शान्ति, एकता र आध्यात्मिकताको स्तम्भ भएको जिकिर गर्दै उहाँले यसले विश्वलाई निरन्तर प्रेरणा दिइरहेको बताउनुभयो । वज्रयान बौद्ध राज्यको रूपमा भुटानले आध्यात्मिक र सांस्कृतिक परम्परालाई संरक्षण गर्न नालन्दाको भूमिकालाई सम्मान गर्दै नालन्दासँगको सहकार्य र ऐतिहासिक सम्बन्ध विस्तार हुने बताउनु भएको छ ।
विदेश मन्त्रालय (एमइए)का अनुसार प्रधानमन्त्री सेरिङ तोब्गे र उहाँकी पत्नी ओम ताशी डोमा सेप्टेम्बर ३ देखि ६ सम्म भारतको आधिकारिक भ्रमणमा रहने छन् । भ्रमण टोब्गेको फेब्रुअरी २० देखि २१ सम्मको भारत भ्रमणपछि भएको हो, जसमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेको ‘स्कूल अफ अल्टिमेट लिडरसिप (सोल)’ को उदघाटन नेतृत्व सम्मेलनमा भाग लिनुभएको थियो ।
भ्रमणले भारत र भुटानबिचको सहयोग र सम्बन्धलाई जोड दिएको विदेश मन्त्रालयले उल्लेख गरेको छ । विदेश मन्त्रालयको विज्ञप्तिअनुसार अघिल्लो भ्रमणका क्रममा प्रधानमन्त्री तोब्गेले प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुभएको थियो भने रेलमन्त्री अश्विनी वैष्णव, संसदीय मामिला मन्त्री किरेन रिजिजु, विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा र भारत सरकारका अन्य वरिष्ठ अधिकारीले पनि भेटघाट गरेका थिए । रासस/एएनआई