• २४ भदौ २०८२, मङ्गलबार

म्याक्रोँद्वारा युद्धविरामपछि युक्रेनलाई समर्थन गर्न २६-राष्ट्रको गठबन्धन घोषणा

blog

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ ।

पेरिस, भदौ २० गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रूससँगको सम्भावित युद्धविरामपछि युक्रेनलाई समर्थन गर्ने उद्देश्यले २६ देशको गठबन्धन घोषणा गर्दै प्रस्तावित सुरक्षा प्रणालीमा भाग लिने बाचा गर्नु भएको छ । 

सहभागी राष्ट्रले स्थलगत, समुद्र, तथा आकाश लगायतका युक्रेनी क्षेत्र भित्र सेना तैनाथ गरेर सुरक्षा योगदान दिन सक्ने उहाँले बताउनुभएको छ । युक्रेनी समर्थनको गठबन्धन बैठकपछि बोल्दै म्याक्रोँले गठबन्धनको उदेश्य बलपूर्वक रूससँग युद्धमा संलग्न हुनु नभई युक्रेनलाई सुरक्षा सुनिश्चितता प्रदान गर्नु भएको बताउनु भएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भिडियोमार्फत् भएको कुराकानीपछि म्याक्रोँले वासिङ्टनले यस पहललाई समर्थन गरेको र आगामी दिनमा अमेरिकी संलग्नताको विवरण स्पष्ट हुने पुष्टि गर्नु भएको छ । फ्रान्सेली राष्ट्रपतिले युक्रेनले कुनै पनि शान्ति वार्ताको क्रममा आफ्नो सेनाको आकार वा क्षमतामा कुनै असहजता सामना गर्नु नपर्ने सुरक्षा सनिश्चितता रहेको बताउनु भएको छ ।  

यदि मस्कोले शान्ति प्रक्रियामा संलग्न हुन अस्वीकार गर्यो भने युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकासँगको समन्वयमा रूसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको पनि उहाँले पुष्टि गर्नु भएको छ । यसैबिच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने राष्ट्रपति ट्रम्पले केही इयू देशले  अझै रूसी तेल खरिद जारी राखेकोमा निराशा व्यक्त गर्नु भएको छ । रासस/क्यूएनए