• २० भदौ २०८२, शुक्रबार

ठेकेदार भागेपछि पुल अलपत्र

blog

नवलपरासी समाचारदाता

कावासोती, भदौ २० गते । कालीगण्डकी कोरिडोरको गैँडाकोट–बुलिङटारबिचको तरङ्गाखोलामा पक्कीपुल निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले चार वर्षपछि काम सुरु गरेकोमा बिचैमा काम छोडेर सम्पर्कविहीन रहँदा पुल अलपत्र परेको छ ।  

कालीगण्डकी कोरिडोरमा रहेका सबै खोलामा पक्की पुल निर्माण सम्पन्न भइसक्दा पनि तरङ्गाखोलामा पुल बन्न सकेको छैन । ठेक्का पाएको लोहनी बद्रर्स चितवनका ठेकेदार अशोक लोहनीले बिचमा काम छोडेर फरार भएकोमा जिल्ला प्रशासन कार्यालयले ठेकेदार फेला पारेर पुल निर्माण कार्य अघि बढेको थियो । कामै नसकी ठेकेदारले छोडेर हिँडेपछि पुलको काम अलपत्र परेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो । 

पटक पटक प्रशासनको ध्यानाकर्षण गराए पनि प्रशासनले समेत बेवास्ता गर्न थालेको भन्दै स्थानीय युवाले वैकल्पिक यात्राका लागि कलभर्टको व्यवस्था गरेर अस्थायी रूपमा आवागमनमा सहयोग गरेका बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो । 

लोहनी ब्रदर्सले स्थानीयको ठुलो मात्रामा निर्माण सामग्रीको रकम तिर्नसमेत बाँकी रहेको बताएका छन् । चार वर्षदेखि खातामा पैसा नभएको चेक दिने, पैसा माग्दा धम्क्याउने र स्थानीयलाई अनेक आरोप लगाएर पुल  निर्माण अलपत्र छाडेपछि स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएको बुलिङटार–३ का वडाध्यक्ष जर्घामगरले बताउनुभयो । पटक पटक काम गरेको पैसा माग्ने गरेको भए पनि झालझेल गर्ने, फोन नउठाउने, सम्पर्कमा नआउने गरेपछि स्थानीयले सामान उठाएका र आफ्नो भुक्तानी दिनासाथ सामान जस्ताको तस्तै फिर्ता दिने वडाध्यक्ष जर्घामगरले बताउनुभयो । 

पुल ढलानको काम सकिएको भए पनि दुवैतर्फको निर्माण कार्य नहुँदा सवारीसाधन चल्न सकेका छैनन् । बुलिङटार–१ का लोकप्रसाद रामदामले भन्नुभयो, “ठेकेदारले १० दिनमा सकिने कामलाई अलपत्र पारेको छ । उसले काम नगर्ने हो भने वैकल्पिक उपायबाट पनि काम गराउनु पर्छ ।” तीन करोड ११ लाख रुपियाँको लागतमा निर्माण सुरु भएको सो पुलको धेरै जसो काम सकिएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो । कालीगण्डकी कोरिडोर व्यस्त सडकका रूपमा रहेकोले पुल बन्न नसक्दा आवागमन सास्तीपूर्ण बनेको हो ।